करोड नक्कली भारुसहित दुई पक्राउ

काठमाडौं, २६ वैशाख । अन्तर्राष्ट्रिय स्तरमा भारतीय नक्कली रुपियाँ तस्करी गर्ने हाजी तलाद अली समूहले नेपाललाई नक्कली नोट तस्करीको ‘ट्रान्जिट’ बनाउँदै आएको खुलासा भएको छ । एक करोड भारतीय नक्कली रुपियाँसहित मंगलबार साँझ एक पाकिस्तानी र एक नेपाली पक्राउ परेपछि हाजी समूहले नेपाललाई मुद्रा तस्करीको ‘ट्रान्जिट’ बनाउँदै आएको खुलेको हो ।
नेपाल प्रहरीको विशेष ब्युरोबाट खटिएका प्रहरी टोलीले हजार दरका ७० लाख र पाँच सय दरका ३० लाख नक्कली भारतीय रुपियाँसहित पासपोर्ट नम्वर बी–४६९१०२८ बहाक ५६ वर्षीय पाकिस्तानी नागरिक फारुकशेख मोहम्मद र नेपाली नागरिक ६० वर्षीय मोहम्मद नरुउल्लाह बुधबार पक्राउ गरेको हो । पक्राउ परेका दुवैले उक्त नोट आफूहरूलाई ‘हाजी’ भनिने पाकिस्तानी नागरिकले दिएको बयान दिएका छन् । ‘पक्राउ परेको पाकिस्तानी नागरिक आसाबले उक्त नोट ‘हाजी’ भनिने पाकिस्तानीले दिएको बयानका क्रममा भनेको छ’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘ऊसँग पक्राउ परेका नेपाली नागरिक अरुउल्लाहले पनि सोही किसिमको बयान दिएको छ ।’
प्रधान कार्यालयबाट खटिएको प्रहरीको विशेष ब्युरोले दुवैलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार साँझ पौने पाँच बजे पक्राउ गरेको हो । प्रहरीका अनुसार पाकिस्तानी नागरिक असाब कतार एयरवेजको उडान नंं. क्युआरटी ३५१ को जहाजमा पकिस्तानको कराँचीबाट दोहा हुँदै काठमाडौं आएका थिए । उनले दुई वटा गाढा निलो रङको सुटकेसभित्र फल्स बटम बनाई लुकाएर उक्त नोट ल्याएका थिए । उनलाई लिन विमानस्थलको बाहिरपट्टि नेपाली नागरिक नरुउल्लाह कुरिरहेका थिए । गुडाउँदै ल्याइएको उक्त सुटकेस नरुउल्लाहले लिना साथै प्रहरीले दुवैलाई पक्राउ गरेका थियो । नरुउल्लाह काठमाडौंका स्थायी बासिन्दा हुन् । उनको बागबजारमा आफ्नै घर छ । घर भाडा दिएका उनी भने परिवारसहित म्हेपीमा भाडामा बस्दै आएका छन् ।
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार पाकिस्तानी नागरिक आसाबलाई उक्त नोट नेपाल पुर्‍याएवापत ‘हाजी’ का सदस्यले २५ हजार भारतीय रुपियाँ दिने भनेका थिए  । नरुउल्लाहलाई नोट बुझाएपछि उनको काम सकिन्थ्यो । बाँकी काम भने नरुउल्लाहले गर्ने जिम्मा पाएका थिए । नोट जिम्मा लगाएपछि आसाबलाई बागबजारकै एक लजमा बस्ने व्यवस्था मिलाइएको थियो । सबै गतिविधिबारे नरुउल्लाहमार्फत ‘हाजी’ले जानकारी लिइरहेका थिए । नरुउल्लाहको यसअघि पनि ‘हाजी’सँग नियमति सम्पर्क हुने गथ्र्यो । ‘नरुउल्लाहको गतिविधि बारे प्रहरीले विगतदेखि नै निगरानी गरेको थियो । यसबीचमा  पनि उनको गतिविधि शंकास्पद देखियो’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘उसको पाकिस्तानी नागरिकसँग पटक–पटक सम्पर्क  हुने गरेका देखियो । उसैलाई पिछा गर्ने क्रममा उक्त नोट बरामद भएको हो ।’
पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ । उनीहरूलाई अहिले महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ । परिसरका प्रवक्ता डिएसपी चक्रबहादुर सिंहले भने, ‘विशेष प्रहरीको सहयोगमा जाली नोटसहित उनीहरूलाई विमानस्थलबाट पक्राउ गरिएको हो, दुवैलाई पाँच दिनको म्याद थप भएको छ, अनुसन्धान जारी छ ।’
को हुन् हाजी ?
अन्तर्राष्ट्रिय स्तरमा भारतीय जाली नोटको कारोवार गर्ने पाकिस्तानी तस्करहरूको समूह हो ‘हाजी तलाद अली’ । प्रहरी स्रोतका अनुसार उनीहरूको अन्तर्राष्ट्रिय डन डी कम्पनीका मालिक दाउद इब्राहिमसँग पनि सम्बन्ध छ । दुवै समूहले कहिले संयुक्त रूपमा त कहिले एक्ला–एक्लै भारतीय बजारमा जाली भारतीय रुपियाँ बिक्री गर्ने गर्छन् । बिक्री हुने सबै जाली नोट पाकिस्तानमा नै छापिन्छ । यस कार्यमा प्रयोग हुने धेरै मध्ये एक मुख्य ‘ट्रान्जिट’ नेपाल हो । प्रहरी स्रोतका अनुसार उनीहरूले यसअघि सञ्चार उद्यमी जमिम शाहलाई प्रयोग गरे । यही कामका लागि अर्का सञ्चार उद्यमी युनुश अन्सारीलाई पनि प्रयोग गरे । अन्सारी भारतीय जाली नोट कारोवारकै अभियोगमा अझै पनि जेलमा छन् । नेपालबाहेक उनीहरूले प्रयोगमा ल्याउने अर्को ‘ट्रान्जिट’ बंगलादेश, लाइबेरिया, थाइल्यान्ड, भियतनामलगायतका मुलुक छन् । यो सँगै उनीहरूले कतार, सिंगापुर, बैंकक, थाइल्यान्डको भूमि पनि प्रयोग गर्छन् । यस कार्यका लागि उनीहरूले यिनै मुलुकका  मानिसलाई ज्यादा प्रयोग गर्छन् । प्रयोग हुने भारतीय नागरिकको संख्या पनि उल्लेख्य छ ।

कति पक्राउ परे भारतीय जाली नोटमा ?
भारतीय बजारमा मात्रै करिब २० अर्ब जाली भारतीय नोट रहेको अनुमान गरिएको छ । यसमा थोरै हिस्सा मात्रै नेपाली भूमि प्रयोग हुँदै भित्रिने भारत भित्रिले जाली नोटले लिन्छ । धेरै हिस्सा अन्य मुलुकबाट भित्रिने जाली नोटले लिन्छ । नेपाल प्रहरीको तथ्यांक अनुसार ०६५ साल यता मात्रै नेपालमा सात करोड ७४ लाख ४७ हजार रुपियाँ भारतीय जाली नोट बरामद भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले मात्रै यस अवधिमा तीन करोड ४१ लाख ८२ हजार रुपियाँ बरामद गरेको छ । करोबारमा संलग्न २२ जनालाई पक्राउ गरे पनि २५ जना अझै फरार छन् । प्रधान कार्यालयका अनुसार ०६५ यता २३  भारतीय, ११ जना पाकिस्तानी, पाँच बंगलादेशी, चार श्रीलंकन, दुई लाइबेरियन र एक भियतनामी पक्राउ परेका छन् । प्रहरीको तथ्यांक अनुसार जाली नोट कारोवार गर्ने मध्ये  एक सय तीन जनलाई मुद्दा चलाइएको छ ।

प्रतिक्रिया