माफी मागे झलनाथले

JNकाठमाडौं, २६ वैशाख । पार्टीको संस्थागत निर्णयविना नै पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख नियुक्ति गर्न सहमति जनाएकोमा एमाले अध्यक्ष झलनाथ खनालले माफी मागेका छन् । बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले ‘ढुलमुले चरित्र देखाएको र अडान नभएको भन्दै’ चर्को अलोचना गरेपछि खनालले आत्मालोचना गरेका हुन् ।
बैठकमा अध्यक्ष खनालले उच्चस्तरीय राजनीतिक समितिमा कार्कीको नाम मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले प्रस्ताव गरेको र त्यसको एमाओवादी र कांग्रेसले समर्थन गरेपछि मात्रै आफूले वाध्य भएर समर्थन गर्नुपरेको लाचारीसमेत प्रकट गरे । अख्तियार प्रमुख नियुक्ति प्रकरणमा उच्चस्तरीय समितिमा प्रतिनिधित्व गर्ने शीर्ष नेताहरूको बैठकमा आलोचना भएपछि खनालले पार्टीको आधिकारिक धारणा लिएर नजानु गल्ती भएको स्वीकार गरेका हुन् ।
खनालले पार्टीका तर्फबाट अख्तियार प्रमुखमा उदय नेपालीको नाम दिएको तर, अख्तियार प्रमुखमा एमाओवादीको तर्फबाट प्रस्ताव गर्ने कुरा भए पनि कार्कीको नाम गच्छदारले प्रस्ताव गरेको जिकिर बैठकमा गरे । कार्कीको नाम सिफारिस गर्नुमा आफ्नो गल्ती नभएको दाबी उनको थियो ।
‘कार्कीको नाम विजय गच्छदारले प्रस्ताव गरेका हुन्, उनको प्रस्ताव आउनासाथ प्रचण्डको समर्थन आयो, कांग्रेसले पनि मौनतापूर्वक समर्थन जनायो’ खनालको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य कर्णबहादुर थापाले सौर्यसँग भने, ‘हाम्रो तर्फबाट उदय नेपालीको नाम थियो तर, सबै सहमत भइसकेपछि त्यसमा विरोध जनाउनु सहमतिका अन्य प्रक्रियालाई अड्काउनु जस्तै हुने भएपछि वाध्यतापूर्वक सहमति जनाइएको थियो ।’ तर, उच्चस्तरीय समितिमा कार्कीको नाममा निर्णय हुँदा खनालले खनालले कार्कीको नाममा विवादास्पद छविकै कारण विरोध आएपछि पार्टी पोलिटब्युरोको बैठक बसेर सिफारिस रोक्ने निर्णय गरेको बैठकलाई जानकारी गराएका थिए । बैठक सुरु हुनासाथै केन्द्रीय सदस्यहरूले अख्तियार प्रमुखमा कार्कीको नियुक्तिले लोकतान्त्रिक आन्दोलन र त्यसमा सहभागी जनताको शिर झुकेको बताउँदै नेतृत्वको आलोचना गरेका थिए ।
एमाले शीर्ष नेताहरू माधवकुमार नेपाल, केपी शर्मा ओली र वामदेव गौतमले पनि कार्की नियुक्ति प्रकरणका विषयमा केन्द्रीय सदस्यहरूसमक्ष आफ्नो धारणा राखेका थिए । वरिष्ठ नेता नेपालले कार्कीको नाम विजय गच्छदारले प्रस्तुत गरे पनि उनको प्रस्ताव एमाओवादीको भएको बताएका थिए ।
त्यस्तै नेता ओलीले कार्कीको नाम प्रस्तावित गरेको बैठकमा आफू नगए पनि माधव नेपाल प्रधानमन्त्री भएकै बेला कार्कीलाई अख्तियार प्रमुख बनाउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पटकपटक प्रस्ताव राखेको बैठकलाई जानकारी गराएका थिए । ‘अस्तिको बैठकमा नाम प्रस्तावित हुँदा त म थिइनँ तर अघिल्ला दुई सरकारकै पालामा पुष्पकमलले कार्कीको नाम लिइरहन्थे, त्यसबेलादेखि नै हामीले उदय नेपालीको नाम लिएका थियौँ’, बैठकमा ओलीले भनेका थिए ।
चुनावी तयारीलाई केन्द्रित गरेर बैठक डाकिए पनि कार्कीको नियुक्ति प्रकरणले बैठकमा लामो समय लिएको थियो । कार्कीको नियुक्तिप्रति खेद प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गर्ने विषयमा बैठक प्रवेश गरेको थियो । कतिपय केन्द्रीय सदस्यहरुले नेतृत्वको भूमिका प्रभावकारी नभएको भन्दै पार्टीको नवौँ महाधिवेशन गर्ने एजेन्डा पनि राखेर केन्द्रीय कमिटी बैठकमा छलफल गर्नुपर्ने माग राखेका थिए । पोलिटब्युरो सदस्य खगराज अधिकारी, केन्द्रीय सदस्यहरू कर्णबहादुर थापा, गुरु बराल, गणेश तिमल्सिनालगायतले यही बैठकबाटै महाधिवेशन आयोजक कमिटी बनाउने गरी महाधिवेशनको मिति तोक्ने विषयलाई पनि बैठकको एजेन्डा बनाउनुपर्ने माग गरेका थिए । तर, बैठकले महाधिवेशनको एजेन्डा छलफलमा राखेको छैन ।
बैठकको मुख्य एजेन्डा संविधानसभा निर्वाचनको तयारी रहेको छ । चुनाव तयारीलगायत समग्र राजनीतिक विषयमा अध्यक्ष झलनाथ खनालले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि बिहीबारको बैठकले छलफल गर्नेछ । यसअघि नै एमालेले चुनावका लागि पार्टी परिचालनको एक महिने प्रारम्भिक अभियान र अर्काे तीन महिने अभियानको योजना तयार गरेको छ । बुधबार बस्ने बैठकमा ती जोजना पनि प्रस्तुत हुने र निर्वाचन क्षेत्र केन्द्रित योजना बनाएर नेताहरू गाउँ जाने तयारी एमालेको छ । दुई सय ४० वटै निर्वाचन क्षेत्रमा पार्टीका केन्द्रीय सदस्यहरूलाई परिचालन गरी जनमत सर्भेक्षणसमेत गर्ने योजना बैठकमा प्रस्तुत भएको छ ।
‘समग्र चुनाव तयारीमा केन्द्रित गर्नेगरी राजनीतिक प्रतिवेदन आएको छ त्यसमा भोलिदेखि छलफल हुन्छ’ केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने । बैठकले स्थायी समिति र पोलिटब्युरो बैठकले पारित गरेको केन्द्रीय सदस्य मनोनयनको प्रस्ताव पनि पारित गर्दै राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको विषय पनि एजेन्डामा समावेश गरेको छ ।

आफ्नै निर्णय विरुद्ध खनालको खेद प्रस्ताव
काठमाडौं : लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउन उच्च स्तरीय राजनीतिक समितिमा आपैँmले गरेको निर्णय विरुद्ध एमाले अध्यक्ष झलनाथ खनालले खेद प्रस्ताव गरेका छन् । खनालकै अध्यक्षतामा बुधबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले कार्कीको नियुक्तिप्रति खेद प्रस्ताव पारित गरेको हो ।
बैठकमा बोल्दै खनालले अख्तियार जस्तो संस्थामा जनआन्दोलन दमनको दोष लागेका र विवादास्पद छवी भएकालाई एमालेको पुनर्विचार गर्ने आग्रह नमानी गरिएको नियुक्तिप्रति खेदसमेत व्यक्त गरेका थिए । स्रोतका अनुसार उनी आपैँmले त्यस्तो भन्दा केन्द्रीय सदस्यहरू हाँसेका थिए ।
अध्यक्ष खनालले समयमै पार्टीको निर्णय लिएर जान नसक्नु आफ्नो कमजोरी भएको पनि बैठकमा स्वीकारेका छन् । ‘समयमै पार्टीको निर्णय लिएर जान सकिएन त्यसमा गल्ती भयो’ खनालको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य कर्ण थापाले भने । (सौस)

प्रतिक्रिया