कार्की, आर्चाय र यमीद्वारा सपथग्रहण

Lokmanshin-Karki
काठमाडौं, २५ वैशाख । विभिन्न विवाद र चर्चाकाबीच राष्ट्रपतिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्व मुख्य सचिव लोकमान सिंह कार्कीलाई नियुक्त गरेका छन् ।
राष्ट्रपति डा.रामवरण यादवले कार्कीलाई अन्तरिम संविधानको धारा १ सय १९ को उपधारा २ बमोजिम प्रमुख आयुक्तमा नियुक्त गरेका हुन् । राष्ट्रपतिको कार्यालयद्वारा बुधबार जारी विज्ञप्ति अनुसार डा.यादवले काठमाडौं निवासी कार्कीलाई अख्तियारको प्रमुख आयुक्त पदमा नियुक्त गरेको जनाएको छ ।
कार्कीलाई एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेतृत्व सहभागी उच्चस्तरीय राजनीतिक समितिले प्रमुख आयुक्त पदमा नियुक्त गर्न सहमति जनाएको थियो । समितिको सहमति लगत्तै संवैधानिक परिषदले उनलाई सो पदमा नियुक्तिका लागि सिफारिस गरेको हो ।
त्यसै गरेर, डा.यादवले अन्तरिम संविधानको धारा १ सय २२ को उपधारा २ बमोजिम भक्तपुर निवासी भानुप्रसाद आर्चायलाई महालेखापरीक्षकमा नियुक्त गरेका छन् । पूर्व सचिव आर्चाय कांग्रेसको सिफारिसमा महालेखापरीक्षक भएका हुन् ।
अन्तरिम संविधानकै धारा १ सय २५ को उपधारा २ बमोजिम लोकसेवा आयोगको प्रमुख आयुक्तमा कयोदेवी यमी नियुक्त भएको विज्ञप्तिमा उल्लेख छ । काठमाडौं निवासी यमीलाई लोकसेवा आयोगमा एमाओवादीले सिफारिस गरेको थियो । यमी एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईकी दिदी सासु हुन् ।
कायम मुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले कार्की, आर्चाय र यमीलाई राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको सपथ दिलाए ।
यसैबीच, प्रमुख आयुक्त कार्कीले आजै अख्तियारका आयुक्त केशव बराललाई पनि पद तथा गोपनीयताको सपथ दिएका छन् । वराल केही महिना अघि आयुक्तमा नियुक्त भए पनि पद तथा गोपनीयताको सपथ हुन सकेको थिएन ।
सपथ कार्यक्रममा राष्ट्रपति डा.यादवका साथै मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी, मन्त्री, संवैधानिक अंगका प्रमुख एवं सदस्य तथा विभिन्न उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया