एक सय २६ सहकारीको दर्ता खारेज

sahakari-bibhagकाठमाडौं, २५ वैशाख । डिभिजन सहकारी कार्यालय काठमाडौंले एक सय २६ प्रारम्भिक सहकारी संस्थाको दर्ता खारेज गरेको छ ।
कार्यालयले २० फागुनमा एक सय ८६ प्रारम्भिक सहकारीको दर्ता खारेजीको ३५ दिने सूचना जारी गरेको थियो । सो सूचनाको समय सकिएपछि ती मध्येका अधिकांश सहकारीको दर्ता खारेज गरिएको हो ।
कार्यालयअन्तर्गत दर्ता भई दुई वर्ष वा सोभन्दा अघिदेखि नियमित रूपमा बुझाउनुपर्ने विवरण नबुझाएको, वार्षिक रूपमा साधारणसभा नगरेको, निरीक्षणको सिलसिलामा संस्थाले तोकेको ठेगानामा जाँदा फेला नपरेको तथा पछिल्लोपटक निरीक्षणमा जाँदासमेत उल्लिखित संस्था फेला नपरेपछि ती सहकारीलाई खारेज गरेको कार्यालयले जनाएको छ ।
संस्था सञ्चालन हुन नसकेको कारण र औचित्यता उल्लेख गरी ३५ दिनभित्र कार्यालयमा सम्पर्क राख्न सूचना जारी गरेपछि ६० वटा संस्था भने सम्पर्कमा आएको कार्यालयका सहकारी अधिकृत कृष्णप्रसाद शर्माले जानकारी दिए । सम्पर्कमा नआए सहकारी ऐन, २०४८ को दफा ४१ अनुसार संस्थाको दर्ता खारेजी गरिएको शर्माले बताए । ‘एक सय ८६ सहकारी खारेजीको सूचना जारी गरेकोमा  ६० वटा सम्पर्कमा आएर सबै विवरण पेस गरे ।’ शर्माले भने, ‘यसमध्ये बाँकी सबैको दर्ता खारेज गरेका हौँ ।’ खारेजीमा पर्ने अधिकांश वचत तथा ऋण सहकारी रहेको कार्यालयले जनाएको छ ।
सहकारी ऐनबमोजिम निरीक्षण गर्दा कुनै संघ/संस्था लगातार दुई वर्षसम्म कुनै कारोबार नगरी निक्रिय अवस्थामा रहेको पाइएमा वा कुनै संघ/संस्थाद्वारा उद्देश्यविपरीत कार्य गरेको पाइएमा खारेज हुने व्यवस्था छ । यसरी दर्ता खारेज भएमा संघ वा संस्था विघटन हुनेछ र दर्ता प्रमाणपत्र स्वत: रद्द हुने प्रावधान ऐनमा छ । त्यस्तै, सहकारीसम्बन्धी मापदण्ड ०६८ मा नियमित रूपमा लेखापरीक्षण नगराउने, निर्धारित समयमा साधारणसभा सम्पन्न नगर्ने, सहकारी मूल्य र सिद्धान्त, प्रचलित ऐन, नियम र विभागले जारी गरेको निर्देशन एवं मापदण्ड तथा विनियमको परिपालना नगरेसम्म त्यस्तो संघ/संस्थालाई सरकारबाट उपलब्ध गराइने सेवा–सुविधा उपलब्ध गराइने छैन भनिएको छ ।
डिभिजन कार्यालयले आथिर्क वर्ष ०६७/६८ मा एक सय ५० सहकारी खारेजीको सूचना जारी गरेकोमा ९२ संस्था खारेज गरेको थियो भने त्यसमध्ये ५८ वटा संस्था पुन: सम्पर्कमा आएको थियो । काठमाडौंमा करिब चार हजार सहकारी दर्ता भएका छन् । काठमाडौंमा मात्रै ३७ सय सहकारी सञ्चालनमा रहेका छन् । जसमध्ये पाँच करोडभन्दा बढी कारोबार गर्ने दुई सय पाँच रहेको छ ।

प्रतिक्रिया