कोशी पूर्वको चार दिनदेखिको बन्द खुल्यो

Ilamइलाम, २४ वैशाख । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषदले चार दिनदेखि आव्हान गरेको पूर्वको नौ जिल्ला बन्द फिर्ता लिएको छ ।
परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देनले आज अपरान्ह एक प्रेस विज्ञप्ती प्रकाशित गरी बन्दका कार्यक्रम तत्कालका लागि स्थगन गरिएको जानकारी दिए । विज्ञप्तिमा आन्दोलन जारी रहेको तर, आन्दोलनको स्वरुप परिवर्तन गरी यातायात, पसल, बजार, कलकारखाना तथा शैक्षिक संस्थाहरु खुलाइएको उल्लेख छ ।
‘आन्दोलनको स्वरुप परिवर्तन गरि सरकारी कार्यालय, गाविस र नगरपालिका, निर्वाचन आयोगमा घेराउ तथा तालाबन्दी गरी चैत १ को कदम र मतदाता नामावली संकलन, अवैध नागरिकता वितरण्को विरुद्धको आन्दोलनलाई अझ सशक्त पारिने छ’ परिषदका केन्द्रीय अध्यक्ष लिङ्देनद्वारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख छ, ‘अहिलेसम्मको राजनैतिक उपलब्धिहरु, संघीय लोकतान्त्रिक गण्ँतन्त्र, धर्मनिरपेक्षता, नेपालको संवैधानिक सुरक्षा गरिनु पर्ने, अन्तरिम संविधान २०६३ अनुसार संविधान सभाको चुनावको हाम्रा मागहरु यथावत रहनेछन् ।’
यसैबीच प्रहरीले गत आइतबार बन्द आव्हान गर्दै हिंड्ने क्रममा इलामबाट पक्राउ गरेका परिषदका तीन कार्यकर्तालाई रिहा गरेको छ । जिल्ला प्रशासन कार्यालयमा परिषद र प्रशासनबीच भएको वार्तामा बन्द खुलाउने सहमति भएपछि पक्राउ परेका आफ्ना कार्यकर्ता रिहा भएको परिषदका इलाम अध्यक्ष दिलप्रसाद नेम्बाङ्गले बताए । बन्द स्थगन भएपछि जनजीवन सामान्य बन्दै गएको छ । सडकमा गाडीहरु चल्न थालेका छन् । बजार तथा पसल पनि क्रमशः खुल्न थालेको छ ।

प्रतिक्रिया