दलित बस्ती नागरिकताविहीन

धनगढी, २३ वैशाख । डडेल्धुराका सयौँ दलित वृद्धवृद्धाले वर्षौं बित्दा पनि नागरिकता पाउन सकेका छैनन् । स्थानीयको घरमै पुगेर नागरिकता वितरण गर्न जिल्ला प्रशासन कार्यालयले विभिन्न समयमा घुम्ती शिविर सञ्चालन गर्दै आए पनि दुर्गम क्षेत्रका दलित बस्तीमा भने धेरैजसो दलित वृद्धवृद्धा नागरिकताविहीन छन् ।
घुम्ती शिविर सञ्चालनबारे दलितलाई जानकारी नहुने हुनाले नागरिकता पाउन नसकेका हुन् । दलितमा नागरिकताको अपरिहार्यताबारे चेतनाको कमी भएकाले सयौँ दलित वृद्धवृद्धा नागरिकताविहीन रहेका एक गैरसरकारी संस्थाले जनाएको छ ।
दलित हकहितको क्षेत्रमा कार्यरत ग्रामीण दलित सुधार समितिले गरेको अध्ययनअनुसार जिल्लाका धेरैजसो दलित बस्तीका वृद्धवृद्धामा नागरिकता बनाउनुपर्छ भन्ने ज्ञानको अभाव छ । जनचेतनाको कमीका कारण धेरै दलित बस्तीका दलित वृद्धवृद्धाले नागरिकता पाउन नसकेको संस्थाले प्रतिवेदनमा उल्लेख गरेको छ ।
दलित गैरसरकारी संस्था महासंघको सहयोगमा सञ्चालित नागरिकताविहीन दलित तथा विपन्न वर्गका लागि सहयोग कार्यक्रमअन्तर्गत २ वर्षमा दुई हजार दुई सय दलित वृद्धवृद्धालाई नागरिकता प्रदान गरेको कार्यक्रम संयोजक ज्ञानेन्द्र पाठकले बताए । संयोजक पाठकका अनुसार जिल्लाका दुर्गम क्षेत्रका धेरैजसो युवासमेत नागरिकताविहीन छन् । १६ वर्ष नपुग्दै कामका लागि भारत जानुपर्ने बाध्यता भएकाले धेरैजसो दलित युवाले समेत नागरिकता बनाउन नसकेको उनले बताए ।
दुर्गम गाउँमा घुम्ती शिविर सञ्चालन नहुनु र गरिब दलितसँग सदरमुकाम आएर नागरिकता बनाउने आर्थिक क्षमता र चेतना नभएकाले धेरैजसो दलितहरूले नागरिकताविहीन हुनुपरेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया