जबर्जस्ती निर्वाचन गर्न खोजे कडा प्रतिकार : गजुरेल

धनकुटा, २२ वैशाख । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले चारदलको आडमा बनेको खिलराज रेग्मी नेतृत्वको सरकारले गराउन लागेको निर्वाचन आफ्नो पार्टीले पूर्ण रूपमा बहिष्कार गरिरहेको बताएका छन् । गैरराजनीतिक व्यक्तिको नेतृत्वमा सरकार गठन गरेर चार दलले बाँकी दललाई पनि असफल बनाएको आरोप लगाउँदै उनले वर्तमान सरकार नहटेसम्म निर्वाचन हुन नदिने बताए । आफूहरूको असहमतिका बाबजुद निर्वाचन गर्न खोजे कडा प्रतिकार गर्ने चेतावनी उनले दिए ।
क्रान्तिकारी पत्रकार महासंघ धनकुटाले शनिबार गरेको पत्रकार भेटघाट कार्यक्रममा गजुरेलले यस्तो चेतावनी दिएका हुन् । रेग्मी नेतृत्वको सरकार अविलम्ब खारेज हुनुपर्नेमा उनले जोड दिए । त्यसो नभए देशव्यापी आन्दोलन गरी सरकार ढालिने उद्घोष उपाध्यक्ष गजुरेलले गरे । निर्वाचनको विरोधमा आफूहरू नरहेको प्रस्ट पार्दै उनले भने, ‘चार दलले देशमा असंवैधानिक कार्य अगाडि बढाएकाले त्यसको विरोध गरेका मात्र हौँ । निर्वाचनको विरोध गरेका होइनौँ ।’
नेकपा–माओवादीले रेग्मी नेतृत्वको सरकार विघटन गरी दलीय सरकार गठन गरेपछि मात्र निर्वाचनमा सहभागि हुने बताउँदै आएको छ । अहिलेकै सरकारले गराउन खोजेको निर्वाचन बहिष्कार गर्ने घोषणा गर्दै उसले निर्वाचनका लागि हुने तयारीका कार्यक्रममा भाँजो हाल्न आफ्ना कार्यकर्तालाई निर्देशनसमेत दिइसकेको छ ।
उपाध्यक्ष गजुरेलले समेत दलका नेताकै नेतृत्वमा दलीय सरकार बनाउनुपर्ने दोहोर्‍याए । कर्मचारीको सरकारले देशलाई बलियो बनाउन नसक्ने ठोकुवा उनले गरे । २५ बुँदे र ११ बुँदे सम्झौता खारेज गर्नुपर्ने र गोलमेच सम्मेलनमार्फत दलहरूकै नेतृत्वमा नयाँ सरकार गठन गरिनुपर्ने भनाइ उनले राखे । आफूहरू अहिले नै हतियार उठाउने पक्षमा नरहेको स्पष्ट पार्दै चारदल बाहेकका सबै दल मिलेर संयुक्त आन्दोलन गर्ने तयारी भइरहेको बताए । अर्काे प्रसंगमा गजुरेलले सर्वाेच्च अदालतले इजलासमा पत्रकारलाई प्रवेशमा निशेध गरेको घटनाले देशलाई निरंकुशता तिर लगेको थप पुष्टि भएको उल्लेख गरे ।

प्रतिक्रिया