टेलिकम टी–२० क्रिकेट फाइनल आज

काठमाडौं : पिएसटिएन नेपाल टेलिकम बुधबार ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पिएसटिएनले सिडिएमएलाई ५५ रनले पराजित गर्‍यो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको पिएसटिएनले निर्धारित २० ओभरमा पूरै विकेट गुमाउँदै १ सय ४५ रनको योगफल खडा गर्‍यो । जवाफमा सिडिएमए १७ ओभरमा अलआउट हुँदै ९० रनमा खुम्चियो ।
पिएसटिएनका मुकेश राउतले ७० तथा सुविन श्रेष्ठले १५ रन बनाए । सिडिएमएका सुमित थापाले ५९ रन जोडे । बलिङतर्फ पिएसटिएनका गोपाल केसीले ३ तथा सिडिएमका सुदन सुवाल र मोहम्मद कासिकले पनि समान ३–३ विकेट हात पारे । बिहीबार हुने फाइनलमा पिएसटिएनको भेट जिएसएमसँगै हुनेछ । बुधबारै भएको खेलमा जिएसएम आइटीसँग १ रनले पराजित भए पनि रनरेटका आधारमा जिएसएम फाइनलमा पुगेको हो । (सौस)

प्रतिक्रिया