क्रसर उद्योग हटाउन माग

विराटनगर: खोलानालाबाट जथाभावी ढुंगा गिट्टी निकाल्दा वातावरणमा प्रतिकूल असर पर्न थालेपछि त्यसलाई रोक्न स्थानीय जनताले जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाएका छन् ।
मोरङको केराबारी वडा नं ५, ६ र ८ भएर बग्ने खोला खदमबाट जथाभावी ढुंगा र गिट्टी उत्खनन कार्य तीव्र बनेकाले स्थानीय जनताले विरोध जनाएका हुन् । सो खोलामा सञ्चालित कृष्ण क्रसर उद्योग, पूर्वाञ्चल क्रसर उद्योग र अटल क्रसर उद्योगलाई पटकपटक बन्द गराउन चेतावनी दिँदा पनि बन्द नभएकाले तत्काल बन्द गर्न स्थानीयले प्रशासनको ध्यानाकर्षण गराएको विपत् व्यवस्थापन समितिका सचिव लालबहादुर बस्नेतले जानकारी दिए । खोलाबाट स्काइभेटर प्रयोग गरी ढुंगा र गिट्टी निकाल्ने कामले गर्दा चुरे क्षेत्र र ग्रामीण बस्ती पनि जोखिममा पर्नसक्ने भएकाले नै सो उद्योगको विरोध गरेको बताइएको छ ।
सो सम्बन्धमा प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले उद्योगलाई बन्द गर्न तत्काल प्रहरीलाई निर्देशन दिने आश्वासन प्राप्त भएको सचिव बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया