सर्वोच्चमा समाचार संकलन गर्न रोक

Sarbochhaकाठमाडौ, १८ वैशाख । सर्वोच्च अदालले सुरक्षा संवेदनशीलता देखाउँदै मंगलबारदेखि पत्रकारलाई समाचार संकलनमा रोक लगाएको छ । सर्वोच्चले नै जारी गरेको प्रेस पास देखाउँदा पनि इजलासमा जान पत्रकारलाई रोक लगाएको कानुन तथा संवैधानिक पत्रकार मञ्चले जनाएको छ ।

सोमबार पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउन मिल्ने या नमिल्ने विषयमा छलफल भइरहँदा केही अप्ठ्यारो भएको उल्लेख गर्दै सर्वाेच्च प्रशासनले समाचार संकलनमा रोक लगाएको हो । ‘इजलास र न्यायाधीशको च्याम्बरमा पत्रकारद्वारा केही असहज परिस्थिति सिर्जना भएपछि सुरक्षा चासो देखाएको छ,’ सर्वोच्चका सहप्रवक्ता हेमन्त रावलले भने, ‘समस्या उत्पन्न भएपछि सर्वाेच्चद्वारा पत्रकारलाई जारी गरेको प्रेस पास देखाउँदा पनि इजलासमा जान रोक लागेको छ ।’
सर्वाेच्चमा निर्वाध रूपमा समाचार संकलन गर्दै आएका पत्रकारलाई एकाएक इजलासमा प्रवेश गर्न निषेध गरेपछि मञ्चले के कति कारणले समाचार संकलनमा रोक लगाइएको हो सर्वोच्च प्रशासनसँग जानकारी माग गरेको छ । सर्वोच्चका रजिस्टार लोहित चन्दले केही समस्या भएका कारण रोक लगाइएको तर यसलाई व्यवस्थित गरी पुन: समाचार संकलनका लागि बाटो खोलिने बताए ।
न्यायाधीश गिरिशचन्द्र लालको च्याम्बरमा पत्रकारलाई प्रवेश गर्न दिएको भन्दै एक प्रहरी जवानलाई कारबाही गरिएको छ । न्यायाधीश लालको च्याम्बरमा सुरक्षार्थ खटिएका प्रहरी जवान दीपेन्द्रबहादुर शाहीलाई कारबाही गरिएको हो । उनलाई सर्वोच्चमा २४ घन्टा ड्यउटीमा बस्ने गरी कारबाही गरिएको स्रोतले बतायो ।

प्रतिक्रिया