१८ लाखको दूध निर्यात

बाग्लुङ, १८ वैशाख । म्याग्दी सिंगाका कृषकहरूले दश महिनाको अवधिमा करिब १८ लाख मूल्य बराबरको दूध निर्यात गरेका छन् । ०६९ असारदेखि गाउँमै संकलन केन्द्र सञ्चालन गरी दूध उत्पादन सुरु गरेका सिंगाका कृषकले लाखौँ रुपियाँ नगद भित्र्याउन सफल भएका हुन् । पशुपालक कृषकले स्थापना गरेको जनभावना दुग्ध सहकारी संस्था लिमिटेडले दूध संकलन गरेर निर्यात गर्दै आएको छ ।

०६९ असारदेखि चैत मसान्तसम्म ३५ हजार ९ सय १२ लिटर दूध सदरमुकाम बेनी निर्यात भएको सहकारीका प्रबन्धक गोपीलाल पौडेलले जानकारी दिए । प्रतिलिटर ५० रुपियाँका दरले बजारमा दूध बिक्री गरेर गाउँमा १७ लाख ९५ हजार ६ सय रुपियाँ भित्रिएको पौडेलले बताए ।
४३ जना कृषक आवद्ध सहकारीमा १३ जनाले नियमित दूध बिक्री गर्छन् । गाउँमै दूध संकलन गर्न थालिएपछि व्यावसायिक दूध उत्पादनमा लागेका बाहेक थोरै परिमाणमा दूध उत्पादन गर्ने कृषकले पनि आम्दानी गर्न थालेका छन् । दूध बिक्री गर्न थालेपछि स्थानीयबासीलाई आर्थिक रूपमा सहज हुन थालेको छ । सिंगा, ठूलोखोला, राक्से र डाँडाखेतका कृषकहरूले सो संकलन केन्द्रमार्फत दूध बिक्री गर्दै आएका छन् । दैनिक डेढ सय लिटरको अनुपातमा सदरमुकाम बेनीमा दूध निर्यात हुने गरेको छ । दूध उत्पादनको राम्रो सम्भावना भए पनि ढुवानी र लगानीको समस्या रहेको स्थानीय कृषक रमेश केसीले बताए ।
मोटरसाइकलमा दूध राखेर निर्यात गर्दा महँगो र ट्राफिक नियम उल्लंघन हुने भएकाले समस्या भएको हो । यसैगरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने भन्दै प्रचार गरे पनि बैंकहरूले कृषकलाई ऋण प्रवाह नगर्ने गरेका कारण पशुपालनमा लगानी बढ्न नसकेको कृषक केसीले बताए ।
व्यावसायिक पशुपालन र दुग्ध उत्पादनमा संलग्न कृषकहरूलाई जिल्ला पशु सेवा कार्यालयलगायत निकायहरूले सहयोग गरिरहेका छन् । पशुहरूलाई नि:शुल्क औषधि उपचार, लागि आवश्यक पर्ने उपकरण, घाँसहरू कार्यालयले सहयोग गर्ने गरेको जिल्ला पशुसेवा कार्यालयका प्रमुख सोनफी साहले बताए ।

प्रतिक्रिया