मंसिरमा चुनाव हुनेमा एमाओवादीको आशंका

agni-sapkotaकाठमाडौं, १६ वैशाख । एकीकृत माओवादीले मंसिरसम्म संविधानसभा चुनाव गराउन नसके खिलराज रेग्मी नेतृत्वको अन्तरिम चुनावी मन्त्रिपरिषद्लाई बर्खास्त गर्ने जनाएको छ । पार्टी प्रवक्ता अग्नि सापकोटाले चुनावी मन्त्रिपरिषद्ले मंसिरमा पनि चुनाव गराउनेमा आशंका उब्जिएको बताएका छन् ।

प्रवक्ता सापकोटाले पार्टी मुख्यालय पेरिसडाँडामा आइतबार पत्रकारहरूसँग चुनावी मन्त्रिपरिषद्लाई यस्तो चेतावनी दिएका हुन् । चुनाव गराउनका लागि दलीय सहमतिमा रेग्मी नेतृत्वको सरकार गठन गरेको स्मरण गराउँदै प्रवक्ता सापकोटाले चुनाव गराउन नसके दलीय सहमतिमा सरकार बर्खास्त गरिने बताए ।
‘यो सरकार चुनाव गराउनका लागि मात्र गठन गरिएको हो,’ उनले भने, ‘मंसिरसम्म चुनाव गराउन नसके सरकार गठनमा जस्तै दलीय सहमतिमा सरकार बर्खास्त हुन्छ ।’
उनले चुनावको तयारीमा केन्द्रित हुनुपर्ने सरकार कर्मचारी सरुवा, बढुवाजस्ता काममा भुलिरहेको आरोप लगाउँदै मंसिरमा पनि चुनाव गराउनेमा आशंका उब्जिएको बताए । राजनीतिक दलका तर्फबाट चुनाव प्रयोजनका लागि आवश्यक ऐन नियम तथा कानुन बाधाअड्काउ फुकाएर पठाइसकिएको अवस्थामा दलहरूले चुनावी वातावरण बनाएन र सहयोग गरेन भन्न नमिल्ने उनको भनाइ थियो । उनले भने, ‘चुनावको मिति तत्काल घोषणा गर्न हाम्रो पार्टीले निरन्तर आग्रह गर्दै आएको छ । मिति मात्रै घोषणा गरिए क्रमश: मुलुक चुनावी माहोलमा प्रवेश गर्नेछ ।’

प्रतिक्रिया