दादाभत्ता असुल्ने अर्का पक्राउ

उदयपुर, १२ वैशाख । वैकल्पिक राजमार्गअन्तर्गत त्रियुगा नगरपालिका–४ बरुवा खोलामा निर्माणाधीन पक्कीपुलका ठेकेदारले दादाभत्ता नदिएको भन्दै कामदारमाथि कुटपिट र स्काभेटरमा आगजनी गर्ने सात जनामध्ये थप एकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–२, असारी रोडका संगम राई रहेको जिल्ला प्रहरी कार्यालयका एसपी महेन्द्र पोखरेलले जानकारी दिए ।

विशेष सुराकीका आधारमा राईलाई घरबाटै पक्राउ गरिएको हो । घटनामा संलग्न त्रिनपा–२ का वैद्य सहनी, दिलीप दनुवार, बिकु मगरलगायत पाँच अभियुक्त अझै फरार छन् । उनीहरूको पनि खोजी भइरहेको एसपी पोखरेलले जानकारी दिए ।
वैकल्पिक राजमार्गको चतरा–गाईघाट–नेपालटार–कटारी–सिन्धुली हुँदै हेटौंडा जोड्ने उक्त राजमार्गमा बाटो चौडा गर्ने र पुल निर्माणकार्य एकै साथ सुरु गरिएको थियो । गत बिहीबार गुन्डाहरूको एक हुलले पुल निर्माण गर्ने जिम्मा पाएका हरिहरि एपेक्स जेभीका ठेकेदार केदार दाहालले दादाभत्ता नदिएको भन्दै ठेकेदार तर्साउन मजदुरहरूलाई कुटपिट गरी स्काभेटरमा आगजनी गरेका थिए । घटनाको भोलिपल्टै गोकर्ण कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया