इँटा उद्योगमाथि कारबाही सुरु

सप्तरी, ११ वैशाख । लामो समयदेखि दर्ता नगरेका र राजस्व नबुझाएका सप्तरी र सिरहाका इँटा उद्योगमाथि आन्तरिक राजस्व कार्यालय लहानले कारबाही सुरु गरेको छ ।

सम्बन्धित निकायमा दर्ता नगराएका र राजस्वसमेत नबुझाएका सप्तरी र सिरहाका दुई दर्जनभन्दा बढी इँटा उद्योगमाथि राजस्व कार्यालयले कारबाही सुरु गरेको हो । आन्तरिक राजस्व कार्यालय लहानले पहिलो चरणमा सिरहाका नौवटा इँटा उद्योगमाथि कारबाही अघि बढाएर १३ लाखभन्दा बढी राजस्व असुली गरेको जनाएको छ ।
लामो समयदेखि राजस्व नबुझाएर उद्योग सञ्चालन गर्दै आएका सिरहाको देवीपुर–१ स्थित अमर इँटा उद्योगबाट दुई लाख २३ हजार ७ सय ९४, माड्रस्थित शिवम् इँटा उद्योगबाट ५० हजार, सिरहाको असनपुरस्थित स्वामी इँटा उद्योगबाट एक लाख राजस्व असुली गरेको आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख रामप्रसाद पाठकले जानकारी दिए ।
यस्तै सिरहाको महेशपुरस्थित बालाजी इँटा उद्योगबाट एक लाख, सिरहाको आसोपुर बलकवास्थित गुडु इँटा उद्योगबाट ५० हजार, सिरहाको कृष्णपुरस्थित महालक्ष्मी इँटा उद्योगबाट दुई लाख २५ हजार, सिरहाकै देवीपुरस्थित जय माँ लक्ष्मी इँटा उद्योगबाट दुई लाख ७० हजार र सिरहाको नहरा सिगौलस्थित सन्यासी इँटा उद्योगबाट दुई लाख २५ हजार राजस्व असुली गरेको प्रमुख पाठकले बताए ।
त्यस्तै सिरहाको कृष्णपुर–७ स्थित कृष्णा इँटा उद्योगको एक ट्रयाक्टर इँटा जफत गरेको आन्तरिक राजस्व कार्यालय लहानले जनाएको छ । कारबाहीमा परेका मध्ये कृष्णा इँटा उद्योग र सन्यासी इँटा उद्योग सम्बन्धित निकायमा दर्तासमेत नरहेको पाइएको जनाइएको छ ।
दर्ता नगराएका र राजस्व नबुझाएका इँटा उद्योगका सञ्चालकलाई नियन्त्रणमा लिई राजस्व तिराएको र बाँकी बक्यौता किस्ताको हिसाबले तिर्ने सर्तमा छाड्ेको आन्तरिक राजस्व कार्यालय लहानले जनाएको छ ।
पहिलो चरणमा सिरहाका इँटा उद्योगमाथि कारबाही गरी बक्यौता असुल गरेको आन्तरिक राजस्व कार्यालयले दोस्रो चरणमा सप्तरीमा सञ्चालित त्यस्ता इँटा उद्योगमाथि पनि कारवाही सुरु गरेको जनाएको छ । सम्बन्धित निकायले समय समयमा अनुगमन नगर्दा सप्तरी र सिरहामा सञ्चालित इँटा उद्योगले व्यापक राजस्व चुहावट गर्दै आएका थिए ।
सप्तरीमा पनि करिब एक दर्जन इँटा उद्योग बिना दर्ता सञ्चालनमा रहेको र कतिपय दर्ता भएका इँटा उद्योगले समेत लामो समयदेखि राजस्व नबुझाएको पाइएपछि सप्तरीका इँटा उद्योगमाथि पनि कारबाही सुरु गरेको प्रमुख पाठकले बताए । राजस्व बुझाउन इँटा उद्योगलाई पत्रमार्फत आग्रह गरेको र आग्रहलाई बेवास्ता गरेपछि आन्तरिक राजस्व कार्यालयले स्थलगत निरीक्षण गरी कारवाही गर्ने तयारी गरेको प्रमुख पाठकले बताए ।
सम्बन्धित निकायमा दर्ता नगराई अवैधरूपमा सप्तरीमा दुई दर्जन इँटा उद्योग सञ्चालनमा रहेको नियमित समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि यसअघि नै घरेलु तथा साना उद्योग कार्यालय सप्तरीले त्यस्ता इँटा उद्योगमाथि कारबाही अघि बढाएको थियो ।

प्रतिक्रिया