विदेश जाने चक्करमा दुई लाख डुबाएँ

Bousकाठमाडौं : कलाकारितामा धेरै स्ट्रगल गरेको छु मैले । मेरो जति स्ट्रगल गर्ने कलाकार सायद कलाकारितामा छैनन् जस्तो लाग्छ । स्ट्रगलका समयमा परिवारबाट पूर्ण सपोर्ट पाएँ । त्यस्तै ९ वर्षको थिएँ होला म । मेरी आमा कमला बित्नुहुँदा । त्यो समयदेखि बहिनीहरू बिनिता र योगिताका जिम्मेवारी मेरो काँधमा आयो । परिवारको एक्लो छोरो म । बुबा (डिल्लिबहादुर राई) लाई बुढेसकालले छोएको छ । त्यसैले अहिले ममा घरप्रतिको जिम्मेवारी थपियो । काठमाडौंमा कलाकारिता गरेरै भए पनि घर चलाउन पैसा पठाउनुपर्छ । कलाकारिताको के भर हुन्छ र यहाँ । मलाई ती दिन राम्ररी सम्झना छ अहिले । त्यस्तै ९/१० वर्ष अगाडि होला । कलाकारिता गरेर घर खर्चका लागि हजार पन्ध्रसय म मुस्किलले पठाउँथेँ ।
घरमा बुबा, कान्छी बहिनी र एउटा भान्जा छन् अहिले । मलाई कलाकारिताका सुरुआतमा परिवारले जेजसरी सपोर्ट गर्थे त्यो सपोर्ट अहिले पनि छ । न त मैले नै जिम्मेवारीबाट पाइला मोडेको छु । परिवारले कहिलेकाहीँ सेलिब्रेटीका व्यवहार देखाउँछन् । उनीहरूको यस्तो व्यवहारले छुट्टाएको जस्तो महसुस हुन्छ । म साधारण परिवारको छोरो भएकोले साधारण जीवन बिताउनै मन पर्छ । आफ्नो पुख्र्यौली घर झापा विर्तामोड गएका बेला छिमेकीले अहिले कलाकारका रूपमा हेर्छन्, फोटो खिचाउँछन्, अटोग्राफ माग्छन् । मलाई भने अप्ठ्यारो लाग्छ ।
संघर्षका दौरान नौ वर्षसम्म कहाँ सफलता पाएँ र † बुबाले कलाकारिता बुझ्नुभएकाले कहिल्यै पनि यसमा नलाग्न प्रेसर भएन । ती संघर्षका समयमा परिवारको साथ नपाएको भए अहिले यो स्थानमा कहाँ हुन्थेँ र † कहिलेकाहीँ संघर्ष दिनका दु:ख देखेर बुबाले यो लाइनै छाडेर विदेश जान आग्रहसमेत गर्नुभयो । कलाकारिताबाट उठ्न सकिन्न भन्ने सोच ममा पनि नपलाएको कहाँ हो र † सँगैका दौतरी विदेशबाट पैसा कमाएर फर्किएको देख्दा त विदेश जाने सोच ममा पनि आयो । विदेशको चक्करमा लागेँ । चक्करकै क्रममा दुई लाख पैसा स्वाहा । जतिबेला दुई लाख डुब्यो त्यो समय मेरा लागि यो रकम एकदमै ठूलो थियो । फेरि बल्लतल्ल परिवारले पैसा जुटाइ दिएकाले मलेसिया गएँ । तनमन सबै कलाकारितामै भएकाले विदेशका काममा मन बसेन । केही समय स्वदेश फर्किएँ ।
घरभित्रका कुरा गर्नुपर्दा घरको एउटी बुहारी भन्दा केहीमा कम छैन । आमा सानैमा बित्नु भएकोले बच्चैदेखि घरभित्रका हरेक काम गर्थें । बहिनीहरूका लताकपडा धुनेदेखि सफासुग्घरसम्म । घरका काम गर्न रमाइलो पनि लाग्छ ।
कलाकारिताका संघर्ष दिनमा होस् या अहिले परिवारलाई सोचेजति समय दिन सकेको छैन । संघर्ष समय आर्थिक अभावका कारणले समय दिन सक्दैनथेँ भने अहिले समय अभावका कारणले । समय दिन नसकेकोमा उनीहरूको गुनासो पनि छैन । उल्टै मेरो अभिनय हेरेर प्रशंसा गर्छन् । चलचित्र ‘रिदम’ हेर्दाहेर्दै भान्जा हलभित्रै ग्वाँ…ग्वाँ… रोए रे † बहिनीचाहिँ मृत्युको सिनपछि बाहिरिए छिन् ।
सानोमा खेलौनासँग खेल्न नपाएकाले भान्जाले जे चाहन्छन् त्यही पुर्‍याइदिएको छु । बुबालाई पनि जतिसक्दो सुख दिएको छु । चाहना हँुदाहुँदै पनि मैले परिवारका कतिपय कुरा पूरा गर्न सकिरहेको छैन । ती अबका दिनमा विस्तारै गर्छु । विवाहका लागि घरबाट कुरा आउँछ । परिवारलाई सोचेजति समय दिन नसक्ने मैले श्रीमतीलाई कसरी समय दिने † यसकारण विवाहबाट टाढा रहने गरेको हँु । त्यसो त विवाह नै नगर्ने सोच भने होइन मेरो । काठमाडौंमा एउटा घर जोडेपछि विवाह गर्छु । काकाहरू राजेश हमाल र राजेशपायल राई पनि अविवाहित छन् । उनीहरूको भर्खर बेला भयो रे † उनीहरूका अगाडि त म बच्चै हुँ । टुकुटुकु हिँड्ने ।

प्रतिक्रिया