तीन करोडमा १३ किमी सडक निर्माण

सल्यान : तीन करोडमा १३ किलोमिटर सडक निर्माण भएको छ । करोडौँ रुपियाँ खर्च गरेर निर्माण हुन लागेको सडक १५ वर्ष बितिसक्दा पनि १३ किलोमिटरमै सीमित रहेको हो ।

त्रिवेणी गाविसको लुहामदेखि काभ्रा हँदै कालिमाटी रामपुर जोड्ने २६ किलोमिटर लामो सडक तीन करोड खर्च भइसक्दा पनि अहिलेसम्म १३ किलोमिटर मात्रै सम्पन्न भएको हो ।
जिल्ला विकास समिति सल्यानले प्रत्येक वर्ष विनियोजन गरेको रकम ठेकेदार तथा उपभोक्ता समितिले दुरुपयोग गर्दै आएकाले समयमै सडक सम्पन्न हुन नसकेको हो । आव ०५३/५४ देखि सडकको काम सुरु गरिएको थियो । झिरघाट, मासखोलासम्म ट्रयाक खनेको धेरै भइसके पनि कामअगाडि बढ्न नसक्दा पहिराले पुरिएको छ ।
यति धेरै रकम खर्च भइसक्दा पनि काम हुन नसकेपछि काभ्रा हँदै रामपुर जाने मानिस काभ्रा खलंगा हुँदै रामपुर जाने बाध्यता भएको छ । उनीहरू धेरै रकम खर्च गरेर तुलसीपुर तथा खलंगा–मार्के हुँदै गाडीमा जान बाध्य भएको स्थानीयवासीले बताए । ‘लुहाम–काभ्रामा विनियोजित रकम बढी दुरुपयोग भएको छ,’ उनीहरूले भने ।
‘गत वर्ष डबल कटिङ भनेर ६० लाख र यस आवमा डेढ करोड रकम खर्च भयो । गाडी नियमित आउजाउ गर्छन् तर सडक भने खासै राम्रो छैन,’ स्थानीय भीमसेन नेपालीले बताए । सम्बन्धित निकायले काभ्रा–रामपुर सडकलाई कम प्राथमिकता दिएको उनको आरोप छ । बजेट प्रत्येक वर्ष रकम विनियोजन हुँदै आएको भए पनि उपभोक्ताको कमजोरीका कारण अहिलेसम्म सडक सम्पन्न हुन नसकेको स्थानीय शालिकराम थापाले बताए ।
उपभोक्ता सोझा भएकाले सबैले ठग्दै आएका छन् । कहिले निर्माण समितिले कहिले ठेकेदारले ठग्ने गरेका छन् उनले भने सडक मर्मत गर्ने बहानामा पहिला रकम दुरुपयोग नगरेका भए सम्पन्न भइसक्थ्यो । सो सडक पूरा भएमा त्रिवेणी गाविसको लुहामदेखि सुर्खेतसम्मको यात्रा सहजै गर्न सकिने पनि स्थानीयले बताएका छन् ।

प्रतिक्रिया