स्ववियु चुनाव सर्ने

TUकाठमाडौं, १० वैशाख । त्रिभुवन विश्वविद्यालयले १३ जेठमा गर्ने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव सार्ने तयारी गरेको छ ।

चुनावको समयमा लोकसेवा आयोग र शिक्षक सेवा आयोगको परीक्षा परेकाले विद्यार्थी संगठनको आग्रहमा त्रिविले मिति सार्ने तयारी गरेको हो । त्रिविका सदस्य–सचिव र विद्यार्थी संगठनका प्रतिनिधिबीच सोमबार भएको छलफलमा चुनावको मिति सार्ने सहमति भएको हो । मिति भने तोकिएको छैन । विद्यार्थी संगठनले जेठ २३ देखि २६ गतेबीचमा चुनावको प्रस्ताव गरे तर निश्चित भएको छैन ।
अनेरास्ववियुका अध्यक्ष माधव ढुंगेलले चुनावताका लोकसेवा र शिक्षक सेवा आयोगको परीक्षा परेकाले मिति सार्नुपरेको जानकारी गराए । धेरै विद्यार्थी आयोगमा व्यस्त हुने भएकाले परीक्षा सार्नुको विकल्प नभएको ढुंगेलको भनाइ छ । ‘धेरैजसो विद्यार्थी दुवै आयोगको परीक्षामा व्यस्त हुने भएकाले चुनावमा उनीहरूको सहभागिता नहुने देखियो,’ उनले भने, ‘त्यसैले विद्यार्थीलाई चुनावमा सहभागिता गराउन चुनाव सार्नुपर्छ । त्रिविले पनि सहमति जनाइसकेको छ ।’
शिक्षक सेवाको ९ जेठदेखि लगातार तीन दिन र लोकसेवाको १३ जेठदेखि तीन दिन परीक्षा तोकिएको छ ।
त्रिविका सदस्य–सचिव गंगाबहादुर थापाले स्ववियु चुनाव विद्यार्थीको भएकाले उनीहरूकै मागअनुसार चुनाव सार्न सकिने जानकारी गराए । ‘लोकसेवा र शिक्षक सेवाको परीक्षाको बीचमा चुनाव परेकाले विद्यार्थी संगठनले मिति सार्ने भनेका छन्,’ सदस्य–सचिव थापाले भने, ‘त्यहीअनुसार एक सातापछि चुनावको मिति सर्छ ।’
उम्मेदवारले तुल, ब्यानर राख्न नपाउने
यसपटकको स्ववियु चुनावमा उम्मेदवारले तुल, ब्यानर र पेन्टिङ गर्न नपाउने भएका छन् । त्रिविका सदस्य–सचिव थापाले चुनावलाई मर्यादित बनाउन तुल, ब्यानर र पेन्टिङमा प्रतिबन्ध लगाइएको जानकारी गराएका छन् । स्ववियु चुनाव मिश्रित प्रणालीमा पहिलोपटक हुन लागेको हो । मिश्रितमा अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष तथा उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिकबाट चुनिने भएका छन् ।

प्रतिक्रिया