नामसिंह सम्मानित

Name-shingकाठमाडौं, ९ वैशाख । प्रथम ओलम्पियन बक्सिङ खेलाडी नामसिंह थापालाई नेपाल बक्सिङ संघले आइतबार सम्मान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को दशरथ समीक्षालयमा परिषद्का कोषाध्यक्ष इन्द्रबहादुर थिङले थापालाई सम्मान–पत्र प्रदान गरे । सो अवसरमा बक्सिङ संघका अध्यक्ष राजीव श्रेष्ठले थापालाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सन् १९६४ मा जापानको राजधानी टोकियोमा सम्पन्न १८औँ ओलम्पिकमा उनले ५१ केजी तौल समूहमा पहिलोपटक नेपालबाट सहभागिता जनाउँदै अमेरिकी खेलाडीको सामना गरेका थिए । ब्रिटिस सेनाका अवकाशप्राप्त क्याप्टेन हङकङ च्यम्पियनसमेत रहिसकेका छन् । १४ वर्षको उमेरमा बक्सिङ खेल्न सुरु गरेका उनले ब्रिटिस सेनामा प्रवेशपश्चात् अस्ट्रेलियन प्रशिक्षकसँग २ वर्षको प्रशिक्षण प्राप्त गरेका थिए । बुटवल निवासी थापाले सन् १९६० देखि ६५ सम्म ५ वर्ष बक्सिङ रिङमा आफूलाई उभ्याएका थिए । नेपालले पहिलोपटक ओलम्पिक खेलमा सहभगी हुने क्रममा जापानको टोकियोमा भएको १८औँ ओलम्पिकमा बक्सिङ र एथलेटिक्समा सहभागी भएको थियो । एथलेटिक्समा सहभागी भएका दिगंवत गंगाबहादुर थापा र भूपेन्द्र सिलवाल नेपाली खेलकुदको दृश्यमा रहेका थिए भने बक्सिङमा सहभागिता जनाउने सबै खेलाडी पछिल्लो समय नेपाली खेलकुदको पर्दा बाहिर रहेका छन् । अन्य बक्सरका बारे पनि धेरै जना अनविज्ञ नै छन् ।
सो कार्यक्रममा बोल्दै ओलम्यिन थापाले खेलमा मुख्यत: अनुशासन हुनुपर्ने र साथसाथै खेलाडी फिजिकली फिट हुनुपर्नेमा जोड दिए । जीविकोपार्जनका क्रममा खेललाई निरन्तरता दिन नसकेको भन्दै आगामी दिनमा बक्सिङ खेललाई आफ्नो तर्फबाट सहयोग गर्ने बताए ।
सम्मान कार्यक्रममा परिषद्का कोषाध्यक्ष थिङले खेलको विकास तल्लोस्तरदेखि नै गर्नुपर्नेमा जोड दिँदै परिषद्को अहिलेको नेतृत्वले खेलकुद विकास गर्ने नीतिस्वरूप स्कुल खेलकुदलाई जोड दिएको र पूर्वाधार विकास स्वरूप आगामी वर्षदेखि प्रत्येक निर्वाचन क्षेत्रमा एक/एक सेमी कभर्डहल निर्माण गर्न पहल गरिरहेको बताए ।
संघका महासचिव दीपक गुरुङको स्वागत मन्तव्यबाट सुरु कार्यक्रममा संघका पदाधीकारी, ओलम्पियन उमेश मास्के, प्रवीण तुलाधर, प्रमुख प्रशिक्षक, प्रशिक्षक, खेलाडीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया