दक्षिण एसियाको अर्थतन्त्र गतिशील

काठमाडौं, ६ वैशाख । विश्व बैंकले विश्वको सबैभन्दा धेरै गरिब भएको दक्षिण एसिया क्षेत्रले आर्थिक क्रियाकलापले गति लिएको बताएको छ । विश्व बैंकले हालै सार्वजनिक गरेको पछिल्लो दक्षिण एसिया आर्थिक फोकस नामक प्रतिवेदनमा मजबुत लगानी वातावरणको अभावका कारण आर्थिक गतिविधि पुन: हराउन सक्नेमा सचेत गराएको हो ।

प्रतिवेदन अनुसार अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंकाको एकीकृत आर्थिक वृद्धिदर सन् २०१२ मा ४ दशमलव ७ प्रतिशत मात्र रहेको छ । यो दर सन् २००९ को आर्थिक संकट भन्दा पनि मुनि रहेको छ । सन् २०१३ मा भने विश्व बैंकले दक्षिण एसियाका सम्पूर्ण राष्ट्रहरूको एकीकृत वृद्धिदर साढे ५ प्रतिशत हुने अपेक्षा गरेको छ । ‘विभिन्न अर्थतन्त्रले अनिश्चित विश्व वातावरणका बीच कसरी आफूलाई व्यवस्थित गर्छ भन्ने कुराले चालु खाता र बजेट घाटालाई मात्र सम्बोधन नगरी दक्षिण एसियाको दीर्घकालीन चुनौतीलाई समेत सामना गर्नेछ ।’– विश्व बैंकको दक्षिण एसिया क्षेत्र हेर्ने प्रमुख अर्थशास्त्री मार्टिन रामाले भने ।
प्रतिवेदनमा दक्षिण एसिया क्षेत्रको दुई वर्षर्े आर्थिक पक्षलाई समेटेको छ । प्रतिवेदनमा भनिएको छ ‘यो क्षेत्र अहिले एकदम जटिल मोडमा छ किनकी चालु खाता चौडा हँुदै गएको छ भने वैदेशिक लगानी घट्दो छ । त्यस्तै चुलिँदो महँगीले यस क्षेत्रको केन्द्रीय बैंकलाई मौद्रिक नीतिको माध्यमबाट आर्थिक सुस्तता हटाउन धौधौ परेको छ । चुलिँदो आयातका कारण दक्षिण एसियाका राष्ट्रहरूमा वस्तु तथा सेवाको मूल्य अझ बढ्नेछ ।’
माल्दिभ्स र पाकिस्तान जस्ता दक्षिण एसियाका राष्ट्रहरूको सञ्चिति एकदम संकटपूर्ण स्तरमा रहेको छ । भारत, श्रीलंका र भुटानको बजेट घाटा एकदम बढेको छ । प्राय: देशको आर्थिक वृद्धि लगानीमा छाएको मन्दीका कारण घट्दो छ । कुल स्थिर लगानी सन् २०१२ मा २ दशमलव ६ प्रतिशतले बढेको छ भने सन् २०१० मा १६ दशमलव ७ प्रतिशत थियो । यस क्षेत्रको कार्यसम्पादन एकदम फरक रहेको छ । पाकिस्तानको आर्थिक वर्ष ०११/१२ को कुल लगानी जिडिपीको साढे १२ प्रतिशत थियो भने भारतको लगानी आव ०१२/१३ मा जिडिपीको ३० दशमलव ६ प्रतिशत रहेको उल्लेख छ ।

प्रतिक्रिया