पचपन्न झ्याले दरबारको गाह्रो चर्कियो

55-Jhyale-Darbarभक्तपुर : भक्तपुरको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको पचपन्न झ्याले दरबारको गाह्रो चर्किएको छ । पर्यटकीय दृष्टिकोणले समेत महत्त्वपूर्ण मल्लकालीन यस दरबारका केही भित्ता चर्किन थालेका छन् ।
केही समयअगाडि दरबार मर्मत गरिएको थियो । मर्मतपछि भक्तपुर नगरपालिकाले अवलोकनका लागि गत भदौदेखि सर्वसाधारणलाई खुला गरेपछि मानिसको चापले गर्दा दरबारको गाह्रो चर्किएको हो ।
दरबारमा पर्यटक तथा सर्वसाधारणको भीड लागेपछि मल्लकालीन कलात्मक भित्तेचित्रसमेत जोखिममा परेका छन् । ध्वनि, हावाको चाप आदिले गर्दा गाह्रो चर्किएको हुनसक्ने अनुमान गरिएको छ ।
केन्द्रीय सांस्कृतिक सम्पदा प्रयोगशालाका प्राविधिक एवं पुरातात्त्विक ओमप्रकाश यादवले पुराना मठ, मन्दिर र दरबारको संरचना संवेदनशील हुने भएकाले यसको संरक्षण र हेरचाहमा विशेष ध्यान दिनुपर्ने बताए । उनले यस्ता सम्पदाको अवलोकन गर्दा होसियारी अपनाउन नसकेकाले गाह्रो चर्केको उल्लेख गरे । पचपन्न झ्याले दरबार विश्व सम्पदामा सूचीकृत भएकाले यसलाई संरक्षण गरिनुपर्ने बताउँदै उनले आगामी पुस्ताका लागि समेत यसको उचित संरक्षण गर्नुपर्ने उल्लेख गरे ।
सम्पदा संरक्षणकर्मी देवेन्द्र भट्टराईले पुराना सम्पदा संरक्षण गर्न चाप र ध्वनिबाट तिनलाई टाढा राख्नुपर्ने सुझाव दिए । पुरातात्विक सम्पदालाई बेलाबेला मर्मत गरिरहनुपर्ने भए पनि पचपन्न झ्याले दरबारको उचित संरक्षण हुन नसक्दा गाह्रो चर्किएको उनले बताए । (सौस)

प्रतिक्रिया