गिट्टी भारत निकासी हुन थालेपछि अभाव

धनगढी, ६ वैशाख । कैलालीस्थित त्रिनगर भन्सार नाकाबाट अवैध रूपमा गिट्टी, प्रशोधित धुलो (बालुवा) निकासी हुँदै आएको छ । दिन प्रतिदिन अवैध रूपमा गिट्टी, प्रशोधित धुलो (डस्ट) निकासी हुन थालेपछि कैलालीमा गिट्टी अभाव हुन थालेको छ ।

जिल्ला विकास समिति कैलालीले भारत निकासीका लागि दिएको सिफारिसको परिमाणभन्दा बढी मात्रामा गिट्टी र प्रशोधित धुलो निकासी भएको स्रोतले जनाएको छ । गिट्टी र प्रशोधित बालुवा निकासी मिलोमतोमा हुँदै आएको स्रोतको दाबी छ । २०६९ माघ १० गते बसेको ढुंगा, बालुवा, गिट्टी व्यवस्थापनसम्बन्धी समन्वय समितिको बैठकले छ हजार घनमिटर गिट्टी निकासीका लागि अनुमति दिने निर्णय गरेको थियो । त्यस्तै, महान्यायाधीवक्ताको कार्यालयले २०६९ फागुन १३ गते अर्को आदेश नआएसम्म गिट्टी, बालुवा निकासीमा रोक लगाएको थियो । तर, रोक लगाएको केही दिनपछि सर्वोच्च अदालतमा परेको रिटको फैसलाले अर्घाखाँची र कपिलवस्तु बाहेकका अन्य जिल्लामा वातावरणमा प्रभाव नपर्ने गरेर गिट्टी, प्रशोधित धुलो (बालुवा) निकासी गर्न सकिने जनाएको थियो ।
जिल्ला विकास समिति कैलालीका आलेप अधिकृत योगेन्द्रबहादुर चन्दले श्रीपुर कंक्रिट उद्योगले निकासीका लागि समितिमा निवेदन दिएको बताए । उनका अनुसार गएको माघ ३ गते बसेको समितिको बैठकले छ हजार घनमिटर निकासी गर्न सिफारिस गरेको थियो । त्यही गिट्टी अहिले निकासी भइरहेको उनको दाबी छ ।
त्रिनगर भन्सार कार्यालयले दिएको जानकारीअनुसार गएको माघदेखि चैत ३१ गतेसम्म पाँच हजार एक सय ६१ घनमिटर गिट्टी र दुई हजार सात सय ७७ घनमिटर डस्ट (प्रशोधित धुलो ) त्रिनगर भन्सार नाकाबाट भारत निकासी भएको छ । जबकि जिविसले छ हजार घनमिटर मात्र निकासीका लागि सिफारिस गरेको थियो ।
जिल्ला विकास समितिले निकासीका लागि दिएको परिमाणभन्दा बढी गिट्टी, धुलो निकासी हुँदा पनि सरोकारवाला निकाय मौन बस्न नहुने राष्ट्रिय प्रजातन्त्र पार्टी कैलालीका सचिव वीरेन्द्र बमको भनाइ छ । उनले भने, ‘गलत मनसायले त्यस्तो काम हुँदै आएको भए त्यो ठीक होइन् ।’
राष्ट्रिय उपभोक्ता मञ्च कैलालीका अध्यक्ष हरि रेग्मीले पनि बढी पैसा पाइन्छ भन्दैमा गिट्टी भारत निकासी गर्नु राम्रो नभएको बताए । उनले भने, पर्याप्त भएमात्र भारत निकासी गर्नु ठीक हो तर यहीँ अभाव छ भने पठाउनु ठीक छैन् ।’ चैतदेखि असार मसान्तसम्म घर निर्माणलगायत विकास निर्माणका कार्य धमाधम हुने भएकोले सो अवधिमा गिट्टी अभाव हुने गरेको हो ।
स्थानीय रूपमा पाइने प्राकृतिक स्रोतसाधनको उपयोग स्थानीय व्यक्तिले गर्न पाउनु पहिलो दायित्व भएकोले यसरी गिट्टी भारत निकासी हुन नहुने मधेसी जनअधिकार फोरम नेपालका केन्द्रीय सल्लाहकार प्रेमचन्द्र झा बताउँछन् ।
त्यसै गरी जिल्ला विकास समितिले ढुंगा, बालुवा निकाल्नका लागि अनुमति दिएभन्दा बाहेकका नदी र खोलाबाट अवैधरूपमा ढुंगा, बालुवा निकाल्ने कार्य तीव्र रूपमा भइरहेको स्थानीय बासिन्दा बताउँछन् । यससँग सरोकार राख्ने जिल्ला वनलगायत अन्य निकाय मौन रहेका छन् । अनुमतिबाहेकका खोला–नालाबाट अवैध ढुंगा निकासी हुन थालेपछि कैलालीका धेरै बस्तीहरू वर्षादका बेला डुबानमा पर्ने खतरा छ । जिल्ला विकास समितिले ढुंगा, बालुवा निकासीका लागि वातावरणीय परीक्षण गरेको दुई वर्ष पुग्नै लागेको जनाइएको छ । आउँदो असारपछि पुन: वातावरणीय मूल्यांकन गरिने जिविस कैलालीले जनाएको छ । दुई वर्षअघि पनि नेपाल सरकारको प्राकृतिक स्रोत साधन व्यवस्थापन समितिले ढुंगा, गिट्टी र बालुवा भारत निकासीमा रोक लगाएको थियो ।

प्रतिक्रिया