सार्वजनिक जग्गा पहिचान गर्दै नगर विकास

गुल्मी, ५ वैशाख । सदरमुकाम तम्घासका ९ वटै वडामा फैलिएको तम्घास खोला अतिक्रमणमा परेको जनगुनासो आउन थालेपछि नगर विकास समतिले गत असारदेखि सार्वजनिक जग्गा पहिचानको काम थालेको छ । नगर विकास समितिले काम थालेको भए पनि स्थानीयहरूले नगरविकास समतिलाई नटेरी सार्वजनिक जग्गामा पक्की भौतिक संरचना बनाउने क्रम जारी राखेका छन् ।

तम्घासका महेन्द्र श्रेष्ठलगायतले सार्वजनिक ठाउँमा निर्माण काम गराइरहेका छन् । नगर विकास समतिले पटकपटक गरेको परिपत्रलाई अटेर गर्दै निर्माण जारी राखेको नगर विकास समिति तम्घासका संयोजक गिरीप्रसाद पाण्डेले बताए । तम्घासमा धेरै संघसंस्था र कार्यालयले समेत सरकारी जग्गा अतिक्रमण गरेका छन् । रेसुंगा अस्पत्ताल, जिल्ला खेलकुद विकास समिति, महेन्द्र उच्च मावि, नेपाल रेडक्रस सोसाइटीलगायत कार्यालय सार्वजनिक जग्गामा ठडिएको नगर विकास समितिको नापजाँच तथ्यांकमा उल्लेख छ ।
केही दिनअघि अतिक्रमित जग्गा नापजाँचमा स्थानीयले अवरोध गरेका थिए । विरोधपछि नगर विकास समितिले काम रोकेको थियो । अवरोध गर्नेहरूले प्रशासन कार्यालय पुगेर माफी मागेपछि काम फेरि सुचारु भएको नगर विकास समितिले जनाएको छ । नगर विकास समितिका अनुसार जग्गा अतिक्रमण गर्नेहरूमध्ये सुकुम्बासीसमेत रहेका छन् ।
नगर विकास समतिका अनुसार उद्योगी सुरेन्द्र कक्षपतिलगायत अन्य केहीले खोलामै घर बनाएका छन् । त्यस्तै, व्यवसायी तथा समाजसेवी नन्दराम भुसालले जिल्ला प्रशासन कार्यालयको १३ मिटर जग्गा मिचेर व्यावसाय सञ्चालन गरिरहेको नगर विकास समितिको तथ्यांकमा छ । नेपाली कांग्रेसका स्थानीय नेता त्रैलोक्य प्रताप सेन, चेतनारायण पाण्डे, अर्जुन आचार्य, टेकबहादुर केसी, जनक श्रेष्ठ, रामचन्द्र पोख्रेल, लोकनाथ पाण्डे, महेन्द्र श्रेष्ठलगायतले धेरै जग्गा अतिक्रमण गरी संरचना बनाउने र व्यक्तिगत प्रयोग गर्ने गरेको नगर विकास समितिले जनाएको छ । त्यस्तै, तम्घासमा करिब दुई सय ५० भन्दा बढीले जग्गा अतिक्रमण गरेका छन् ।
तम्घासमा सार्वजनिक जग्गा अतिक्रमण बढेपछि नगर विकास समितिले नापजाँच गर्दा यस्तो तथ्य खुलेको हो । ‘अतिक्रमण गरेर घर बनाउने र व्यक्तिगत रूपमा प्रयोग गर्नेमध्ये ठूलाबडा र तम्घासकै रैथाने व्यापारी बढी छन्,’ नगर विकास समिति अध्यक्ष पाण्डेले भने, ‘बाहिरबाट आई घरजग्गा खरिद गरी बस्नेहरू पनि फसेका छन् ।’

प्रतिक्रिया