‘मापदण्ड मिच्ने पब्लिकेसनलाई कारबाही गर्नुपर्‍यो’

काठमाडौं, ५ वैशाख । अभिभावक संघ नेपालले मापदण्डविपरीत पाठ्यपुस्तक छापी चर्को मूल्यमा बिक्री गर्ने निजी पब्लिकेसनलाई कारबाही गर्न माग गरेको छ । तोकिएभन्दा बढी मूल्यमा पाठ्यपुस्तक बिक्री गर्ने एक दर्जन पब्लिकेसनलाई कारवाही गर्न संघले पाठ्यक्रम विकास केन्द्रसमक्ष माग गरेको हो ।

संघले एसिया पव्लिकेशन, मेघा, एकता, जय, क्याम्ब्रीज, एरावती, रिडमोर, संगम स्टेन्डर्ड, युनाइटेड, प्याब्सनको पब्लिकेसन, बुद्ध, आठराई, जेविडि र विद्यार्थी पब्लीकेशनलगायतले मापदण्ड मिचेकाले कारबाही गर्नुपर्ने संघले जनाएको छ । ती पब्लिकेसनले विद्यालय तहको पाठ्यपुस्तक मापदण्डविपरीत छाप्नुका साथै तोकिएभन्दा बढी मूल्य लिएका कारण कारवाहीको माग गरिएको संघकी उपाध्यक्ष सरिता अर्यालले बताएकी छन् ।
केही दिनअघि संघले अनुगमन गर्दा ती पब्लिकेसनले तोकिएको मूल्यभन्दा दोब्बर र मापदण्डविपरीत पुस्तक छापेको पाइएको थियो । उपाध्यक्ष अर्यालले केन्द्रले तोकेको मूल्यमा बिक्री नगर्ने पब्लिकेशनमाथि कारबाहीको माग गरिएको जानकारी गराईन । उनका अनुसार ती पब्लिकेशनले तोकेभन्दा बढी मूल्य लिने, मूल्यमा स्टिकर टास्ने, प्रकाशन मिति नराख्ने, पुस्तकको साइजअनुसार नछापेको अनुगमनमा भेटिएको थियो ।
पब्लिकेसनहरुको यस किसिमको कालोबजारी र अभिभावकलाई आर्थिक शोषण गर्ने क्रियाकलाप तत्काल रोक्नुपर्ने संघले जनाएको छ । केन्द्रले कारबाहीमा चासो नदिएपछि संघले आवाज उठाएको अर्यालले बताइन् । ‘केन्द्रले कारबाही गर्न चासो नदिएपछि हामीले माग गरेका हौ,’ उनले सौर्यसँग भनिन्, ‘विद्यार्थीले पुस्तक किनिरहेका छन । तत्काल कारवाही नगर्दा विद्यार्थी चर्को मूल्य तिर्न बाध्य हुनेछन् ।’
केन्द्रले पुसदेखि प्रतिपृष्ठ सादा ९४.५ पैसा, डबल कलर १.१० पैसा र मल्टिकलर १.३१ पैसा निर्धारण गरेको थियो । कुनै पब्लिकेशनले डबल कलरको किताब छापेर मल्टिकलरको पैसा लिएको अनुगमनमा फेला परेको थियो ।
पब्लिकेसनसँग स्पष्टीकरण माग
यसैबीच मापदण्डविपरीत पुस्तक छापी बढी मूल्यमा बिक्री गर्ने पब्लिकेसनलाई पाठ्यक्रम विकास केन्द्रले बुधबार स्पष्टिकरण माग गरेको छ । मापदण्डविपरीतका काम गर्ने पब्लिकेशनसग स्पष्टिकरण माग गरिएको केन्द्रका उपसचिव सन्तमणि आचार्यले जानकारी दिएका छन् । केन्द्रले एसिया पव्लिकेशन, मेघा, एकता, जय, क्याम्ब्रीज ,एरावती, रिडमोर, संगम स्टेन्डर्ड, युनाइटेड, प्याब्सनको पब्लिकेशन, बुद्ध, आठराई, जेविडि र विद्यार्थी पब्लीकेशनसंग लिखित स्पष्टिकरण माग गरेको हो । केन्द्रले तोकेभन्दा बढी मूल्य लिने, मूल्यमा स्टिकर टास्ने, प्रकाशन मिति नराख्ने, पुस्तकको साइजअनुसार नछापेकोमा दुई दिनभित्र लिखित जवाफ मागेको छ ।
‘दुई दिनभित्र लिखित स्पष्टीकरण माग गरिएको छ,’ आचार्यले भने, ‘चित्तोबुझ्दो जवाफ नदिए कारबाही गर्छाै ।’ पब्लिकेसनले पाठ्यपुस्तक छाप्न लिएको अनुमतिपत्र खारेजीसम्मको कारबाही गर्नसक्ने प्रावधान छ ।

प्रतिक्रिया