अघिल्लो सरकारका नियुक्ति खारेज गर्न एमालेको माग

काठमाडौं : एमालेले चुनाव घोषणा अघि एकीकृत माओवादी नेतृत्वको सरकारले गरेका विवादास्पद नियुक्ति बदर गर्नुपर्ने माग गरेको छ । चुनावी तयारीका लागि मंगलबार बसेको पोलिटब्युरो बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा अधिकांश सदस्यहरूले पूर्ववर्ती सरकारले गरेका विवादास्पद नियुक्ती बदर हुनुपर्ने माग गरेका थिए । ‘बाबुराम भट्टराई सरकारले सुकुम्बासी आयोगलगायतमा गरेको नियुक्ति निर्वाचनलाई प्रभावित गर्नेगरी गरिएको छ र त्यस्ता नियुक्ति बदर हुनुपर्छ भन्ने बैठकको निष्कर्ष छ’, बैठकपछि प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले भने ।
चुनावी तयारीका विषयमा छलफल गर्ने भनिए पनि घोषणापत्र, राजनीतिक सहकार्यलगायत विषयमा नेतृत्वबीच स्पष्ट धारणा बन्न नसक्दा मंगलबार बैठक निर्णयमा पुग्न सकेन । ‘चुनावी तयारीका विषयमा छलफल त भयो, मूर्तरूपमा आज(मंगलबार) छलफल हुन सकेन भोलि (बुधबार) त्यस विषयमा छलफल हुन्छ,’ पोलिटब्युरो सदस्य पृथ्वीसुब्बा गुरुङले सौर्यसँग भने ।
बैठकमा चुनावी तयारीका लागि केन्द्रीय समितिमा प्रस्तुत गरिने प्रस्ताव, केन्द्रीय समितिमा रिक्त सदस्यहरूको मनोनयन र कार्यविभाजनका विषयमा छलफल हुनेछ । केन्द्रीय समितिमा मनोनयन गर्नुपर्ने ५ र पार्टी त्यागेका नेताहरूको ठाउँमा नयाँ थप्नुपर्ने गरी जम्मा १३ केन्द्रीय सदस्य मनोनयन हुनेछन् । त्यससम्बन्धी प्रस्ताव पोलिटब्युरो बैठकले पारित गरेपछि केन्द्रीय समिति बैठकले मनोनयनलाई अन्तिम रूप दिने एमालेले जनाएको छ । (सौस)

प्रतिक्रिया