दाङसहित पाँच जिल्लामा बन्द आह्वान

Banda

देउखुरी ३ वैशाख । दाङको देउखुरी उपत्यकाको लालमटिया–८, पैसठ्ठी नम्वर निवासी सृजना चौधरीको मृत्यु भएको विरोधमा दोषीलाई कारबाहीको माग गरेर विभिन्न संघ/संस्था र अधिकारकर्मीले दाङसहित पश्चिमका पाँच जिल्लामा आज बन्द आह्वान गरेका छन् ।
बन्दका कारण दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको जनजीवन प्रभावित भएको छ । पाँचवटै जिल्लाका बजार, शिक्षण संस्था पनि बन्द छन् । बन्द सफल बनाउन दाङ, बाँकेलगायतमा विभिन्न संघ/संगठनहरु सडकमा उत्रिएर अबरोध बनाएका छन् ।
पूर्व पश्चिम महेन्द्र राजमार्गमा विहानैदेखि सवारी साधन चल्न सकेका छैनन् । पूर्वबाट आएका सैयौं सवारी साधन भालुवाङमा रोकिएका छन् ।
संयुक्त संघर्ष समितिका अध्यक्ष एवम् थारु कल्याणकारीणी सभा दाङका अध्यक्ष तेजमान चौधरीले सृजना चौधरीको मृत्युका सम्बन्धमा सत्यतथ्य पत्तालगाएर दोषीलाई हदैसम्मको कारबाही माग गरे । ‘घटनाको अनुसन्धान फितलो भयो,’ उनले भने, ‘आरोपीलाई तत्काल नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गर्नु पर्छ ।’
ललितपुर चाकुपटमा डेरागरेर बस्ने इञ्जिनियर युवराज पौडेलको घरमा २ बर्ष देखि कमलहरी बस्दै आएकी सृजनाले मट्टितेल छर्केर आगो लगाउँदा मृत्यु भएको प्रहरीको दाबी छ । यद्यपि आफन्त र थारुसम्बद्ध संघ/संगठनले पौडेल परिवारले सृजनाको हत्या गरेको आरोप लगाउँदै आएको छ । प्रहरीले पौडेल परिवारलाई राजनीतिक दवावका कारण कुनै कारवाही नगरेको आरोप छ ।
बन्दकर्ताले सृजनाको हत्या प्रकरणको छानविन, दोषीलाई कारवाही, कमलहरी वालश्रम ऐन तुरुन्त घोषणा गरिनुपर्ने, वेपत्ता कमलहरीहरुको खोजविनका लागि उच्च स्तरीय छानविन समिति गठनलगायतका माग राखेका छन् ।

प्रतिक्रिया