उच्चस्तरीय समिति खारेज गर्न राप्रपा नेपालको माग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले चारदलीय एकाधिकारलाई निरन्तरता दिने षड्यन्त्रमा अन्तरिम चुनावी मन्त्रिपरिषद् र निर्वाचन आयोग प्रयोग भएको जनाएको छ । चारदलीय सिन्डिकेट रहेसम्म निष्पक्ष चुनाव हुन नसक्ने भन्दै उक्त पार्टीले उच्चस्तरीय राजनीतिक समिति खारेजीको मागसमेत गरेको छ ।
पार्टीको कार्यसम्पादन समितिको निर्णय सार्वजनिक गर्दै अध्यक्ष कमल थापाले सोमबार सरकार र आयोग नै चार दलको हतियार बनेको आरोप लगाएका हुन् । असार पहिलो साताभित्रै चुनाव गराउन पर्याप्त वातावरण भए पनि मिति घोषणा नगरी चार दलले मुलुकलाई अन्योलमा राखेको थापाले आरोप लगाए । ०६८ सालको जनगणनालाई आधार मानी निर्वाचन क्षेत्र पुनर्निर्धारण गरी तत्काल चुनाव गर्नेगरी मिति घोषणा गर्नुपर्ने माग उनले गरे ।
महिला, आदिवासी जनजातिसहितलाई समेटेर ६० प्रतिशत समानुपातिक प्रतिनिधित्वका आधारमा चुनाव गर्न माग गर्दै थापाले निष्पक्ष चुनावका लागि पूर्ववर्ती सरकारका राजनीतिक नियुक्ति खारेजी हुनुपर्ने माग पनि अघि सारेको छ । धार्मिक स्वतन्त्रतासहित सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र कायम गराउनका लागि ५० लाख हस्ताक्षर संकलन गरिने थापाले जानकारी दिए ।

प्रतिक्रिया