‘आर्थिक समृद्धिका लागि कुरा गर्छु’

काठमाडौं, २ वैशाख । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण्ँले नेपालको आर्थिक समृद्धि र स्थायित्वका लागि महत्त्वपूर्ण भूमिका खेल्ने दाबी गरेका छन् । आइतबार चीन भ्रमण जानुअघि अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग उनले आफूले चिनियाँ अधिकारीहरूसँग संविधानसभा निर्वाचनमा सहयोगका लागि पनि आग्रह गर्ने बताए ।

राष्ट्रिय हित र स्वार्थअनुकूल छिमेकी मित्रराष्ट्रहरूले गरेको आर्थिक उन्नति र प्रगतिबाट फाइदा लिनेगरी भ्रमण थालेको अध्यक्ष दाहालले बताए । ‘विगतमा एउटा मुलुकविरुद्ध अर्को मुलुकलाई प्रयोग गर्ने विरासतलाई अन्त्य गर्दै उनीहरूको आर्थिक विकासलाई नेपालको बृहत्तर हितमा प्रयोग गर्ने महत्त्वपूर्ण पहल थालिनेछ,’ उनले भने ।
चीन भ्रमणलगत्तै भारत भ्रमण गर्ने जानकारी गराउँदै दाहालले दुवै मुलुकमा एकै प्रकारका मुद्दामा छलफल गर्ने बताए । आºनो चीन भ्रमणलाई नेपाल सरकार र चीन सरकारले आधिकारिकता प्रदान गरेर महत्त्व दिएको बताउँदै उनले यसबाट आफूमा जिम्मेवारी बढेको महसुस भएको बताए । ‘जिम्मेवारी बढेको र नेपालको हितअनुकूल काम गर्नुपर्छ भन्ने दृढ विश्वास पलाएको छ,’ उनले भने ।
भ्रमणका क्रममा आफूले चीनका राष्ट्रपति, प्रधानमन्त्री, कम्युनिस्ट पार्टीका उच्चपदस्थ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको अध्यक्ष दाहालले बताए । छिमेकी मुलुकसितको सम्बन्धमा नयाँ परम्परा थालनी गर्नुपर्ने बेला आएको भन्दै उनले दुवै छिमेकी देशसित विकासका निम्ति समान ढंगको व्यवहार गर्ने बताए ।

प्रतिक्रिया