जनजाति महासंघले २५ लाख खर्च गर्ने

janajati maha shangकाठमाडौं, ३१ चैत । नेपाल आदिवासी जनजाति महासंघले चितवनमा आगामी वैशाख अन्तिम साता हुन लागेको आठौं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
महाधिवशेन २०७० वैशाख–२८, २९ र ३० गने चितवनमा हुँदैछ । महाधिवेशनको उपराष्ट्रपति परमानन्द झाले उद्घाटन गर्ने अध्यक्ष राजकुमार लेखीद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष लेखीले ‘सम्पूर्ण आदिवासी जनजातिको अभियान, संविधानसभाबाट जारी गरौं पहिचान सहितको संघीय सविधान’ भन्ने मूल नारा समेत तय गरिएको बताएका छन् ।
बैशाख–२८ गते संस्कृतिक झाँकी र्‍याली, वाजागाजासहित उद्घाटन समारोह वीरेन्द्र वहुमुखी क्याम्पसको प्राङ्गण भरतपुर हुने छ । बैशाख–२९ र ३० गते सौराहमा बन्दसत्र हुने विज्ञप्तिमा उल्लेख छ ।
उदघाटन समारोहमा चितवनका साथै नवलपरासी, रुपन्देही, मकवानपुर, तनहुँ, गोरखा, लम्जुङ, कास्की, बारा, पर्सालगायतका जिल्लाबाट आदिवासी र जनजातिप्रतिनिधिहरुको सहभागिता रहने छ ।
महाधिवेशनमा संविधानसभाबाट पहिचान सहितको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित भएको सविधान जारी गराउने आवश्यक कार्यदिशा तथा कार्यनीति तयार गर्ने, संविधानसभा किन र कसरी विघटन भएकोबारे समीक्षा र साझा अवधारण निर्माण गर्नेलगायतमा छलफल हुने छ ।
महासंघको ३ वर्षको प्रगति तथा आर्थिक प्रतिवेदनका साथै आगमी ३ वर्षको लागि नीति तथा कार्यक्रममाथी छलफल, संशोधन तथा अनुमोदन गर्ने र महासंघको नयाँ नेतृत्व चयनसहितका विषयमा पनि निर्णय हुने लेखीले बताए ।
महाधिवेशनमा २५ लाख खर्च गर्ने योजना
यसैबीच, महासंघले महाधिवेशनका लागि अनुमानित २५ लाख खर्च लाग्ने जनाएको छ । प्रतिनिधिहरुका लागि ३ दिनको खाना, आवास, मञ्च, ध्वनी प्रविधी, झाँकी र्‍याली, स्मारिका प्रकाशन, स्टेशनरी झोला र हलभाडालगायतमा खर्च हुने अध्यक्ष लेखीले बताए ।
रकम प्रतिनिधि शुल्क, ६७ जिल्ला समन्वय परिषदहरु, १५ अन्तर्राष्ट्रिय सम्बन्धन संगठनलगायतसँग असुल्ने विज्ञप्तिमा उल्लेख छ ।
सम्मेलनमा प्रतिनिधि, पर्यवेक्षक, सचिवालय कर्मचारी तथा स्वयंसेवकसमेत करिब ५ सयको सहभागिता हुनेछ ।

प्रतिक्रिया