सेनालाई हतियार किन्न बाटो खुल्यो

काठमाडौं : नेपाली सेनालाई सैन्य अभ्यासलगायतका कार्यका लागि हातहतियार खरिद गर्न विस्तृत शान्ति सम्झौताले लगाएको अंकुश हटेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सेनालाई आवश्यक हतियारलगायत सैन्य सामग्री खरिदका लागि अनुमति दिएको छ ।
दलहरूबीच भएको विस्तृत शान्ति सम्झौताले रोक लगाएका कारण सेनाले लामो समयदेखि हतियारसहितका सैन्य सामग्री किन्न पाएको थिएन । सरकारको निर्णयपछि सेनालाई हतियार किन्न बाटो खुलेको छ ।
बैठकले विभिन्न नियमावलीमा उल्लेख ‘महाराजधिराज’ र ‘अधिराज्य’ जस्ता शब्दहरू हटाउन एक सय दुई वटा नियमावली संशोधनको प्रक्रियाअघि बढाउन कानुन मन्त्रालयलाई निर्देशन दिएको छ । गणतन्त्रको भावनाअनुसारको व्यवस्था गर्न विधेयक समितिमार्फत प्रक्रियाअगाडि बढाउन भनिएको हो ।
सरकारले राजतन्त्र अन्त्य भएको झन्डै सात वर्षपछि नियमावली परिमार्जन गर्ने निर्णय गरेको हो । यसअघि गणतन्त्र सुदृढीकरण ऐनमार्फत ऐनहरूमा रहेका यस्ता शब्द परिमार्जन गरिएको थियो । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीका पाँचजना डिआइजीलाई पदस्थापन गर्नुका साथै ६ जना डिआइजीलाई सरुवा गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया