राष्ट्रपतिद्वारा चार अध्यादेश स्वीकृत

काठमाडौं, ३० चैत । निजामती कर्मचारीको मागलाई सम्बोधन गर्दै राष्ट्रपति डा. रामवरण यादवले निजामती ऐन ‘तेस्रो संशोधन अध्यादेश २०६९’ स्वीकृत गरेका छन् । निजामती ऐनको दफा २४ घ १ अनुसार बढुवा भए पनि त्यसअनुरूपको जिम्मेवारी नपाएको भन्दै विभिन्न राजनीतिक दल–निकट कर्मचारी आन्दोलनमा उत्रेका थिए ।

सरकारले स्वीकृतिका लागि पठाएको अध्यादेशको प्रमाणीकरण बिहीबार राष्ट्रपति डा. यादवले गरेपछि कर्मचारीले उठाएका पदस्थापनासम्वन्धी मागको टुंगो लाग्ने भएको छ । राष्ट्रपतिले अध्यादेश स्वीकृत गरेकोमा खुसी व्यक्त गर्दै उनीहरूले अन्यायमा परेका कर्मचारीमा ठूलो राहत मिलेको बताएका छन् ।
राष्ट्रपतिले बिहीबार नै अन्तरिम संविधानको धारा ८८ को उपधारा १ बमोजिम अन्य तीनवटा अध्यादेश पनि स्वीकृत गरेका छन् । राष्ट्रपति कार्यालयका निमित्त सचिव मणिराम ओझाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार ‘नेपाल नागरिकता
(पहिलो संशोधन) अध्यादेश २०६९’, ‘निर्वाचनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०६९’ र ‘नेपाल स्वास्थ्यसेवा (चौथो संशोधन) २०६९’ स्वीकृत भएका हुन् ।
यी अध्यादेशको खिलराज रेग्मीनेतृत्वको सरकारले गत साता स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । यी अध्यादेश यसअघिको एकीकृत माओवादी–नेतृत्वको सरकारले पनि स्वीकृतिका लागि पठाएको थियो तर अन्तरिम चुनावी मन्त्रिपरिषद्ले अध्यादेश फिर्ता लिई नयाँ अध्यादेश पठाएको थियो ।
सरकारले संविधानसभा सदस्यसम्बन्धी अध्यादेश भने स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाएको छैन । संविधानसभा चुनावमा उम्मेदवार बन्ने व्यक्तिको सम्पत्तिविवरण, फौजदारी मुद्दा तथा समानुपातिक प्रतिनिधित्वमा ‘थ्रेसहोल्ड’ लगाउने कि नलगाउने भन्नेमा राजनीतिक सहमति नजुटेपछि सरकारले सिफारिस नगरेको हो । त्यस्तै रेल्वेसम्बन्धी अध्यादेश भने मन्त्रिपरिषद्को मागअनुसार राष्ट्रपति कार्यालयले फिर्ता पठाएको छ ।

प्रतिक्रिया