भलिबलमा ‘विभागीय टोली’को अर्को पराजय

काठमाडौं : नेपाल भलिबल संघको आयोजनामा संचालित प्रथम राष्ट्रिय पुरुष/महिला क्लब लिग भलिबल प्रतियोगिताको महिलातर्फको खेलमा सशक्त मानिएको विभागीय टोलीको पराजित हुने क्रम जारी छ ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा संचालित प्रतियोगिताको बुधबार सम्पन्न खेलमा न्यु डायमन्ड भलिबल क्लबले नेपाल पुलिस क्लबलाई २५–२२, २५–१५ र २५–२० को सोझो तीन सेटमा पराजित गर्‍यो । यो खेलसँगै न्यु डायमन्ड क्लब ५ अंकका साथ पहिलो स्थानमा रहेको छ । दोस्रोमा ३ अंकका साथ पश्चिमाञ्चल, तेस्रोमा १ अंकका साथ एपिएफ र चौथोमा ० अंकका साथ पुलिस क्लब रहेको छ ।
पुरुषतर्फको खेलमा जी फोर स्पोर्ट्स क्लबले युनिभर्सिटी खेलकुद संघलाई २५–१६, २५–१६, २५–१६ को सोझो सेटमा पराजित गर्‍यो । त्यस्तै नेपाल एपिएफले पश्चिमाञ्चलमाथि २५–१५, २५–१६ र २५–२२ को जित निकाल्यो । यसैगरी नेपाल पुलिस र आर्मीबीचको खेलमा नेपाल पुलिस क्लब २५–१६, २५–२२ र २५–१० ले विजयी भयो ।
आजको प्रतियोगिताको समाप्तिसँगै नेपाल एपिएफ क्लब ९ अंकका साथ अग्रस्थानमा रहेको छ । उसलाई दुई खेल खेलेको पुलिसले ६ अंकका साथ पछ्याइरहेको छ । तीन खेल खेलेको जिफो ६ अंकका साथ तेस्रो, त्रिभुवन आर्मी ३ अंकका साथ चौथो र कुनै अंक नजोडेका पश्चिमाञ्चल र विश्वविद्यालय टोली पाचौँ र छैटौँ स्थानमा रहेका छन् । (सौस)

प्रतिक्रिया