पुलिसलाई हराउँदै हङकङ–नेपाल सेमिफाइनलमा

pukar-gahatraj-for-budasubbधरान, २८ चैत । पुकार गहतराजको सानदार प्रदर्शनपछि हङकङ–नेपाल फुटबल टिम धरानमा जारी पन्ध्रौँ अन्तर्राष्ट्रिय बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा हङकङ–नेपालले ए डिभिजन क्लब नेपाल पुलिसलाई २–१ ले हरायो । हङकङ–नेपालको जितमा दुवै गोल पुकारले गरे । हङकङ नेपालले फाइनल प्रवेशका लागि बिहीबार साविक विजेता थ्री–स्टार क्लबको सामना गर्नेछ ।
आक्रामक ढंगले खेल सुरु गरेको हङकङले पूर्वाद्र्धको १२औँ मिनेटमै अग्रता लिएको थियो । नाइजेरियन खेलाडी केल्भिन एमबिएले पोस्टको देब्रे कुनाबाट दिएको पासलाई पुकारले सजिलै गोल गरे । पहिलो हाफमा १–० ले पछि परेको पुलिस दोस्रो हाफमा खेलमा फर्किए पनि पुकारलाई पुन: रोक्न सकेन । ६२आँै मिनेटमा पुलिसका पर्वत पाण्डेले पेनाल्टीमार्फत गोल गरी खेल बराबरीमा ल्याइपुर्‍याएका थिए । हङकङका पिटर सेगुनले पुलिसका गणेश खड्कालाई लडाएपछि उक्त पेनाल्टी दिइएको थियो ।
७२औँ मिनेटमा पुकारले निर्णायक गोल गरे । जगजीत श्रेष्ठले निकालिदिएको अवसरमा पुकार गोलतर्फ अघि बढेका थिए । खेलको म्यान अफ द म्याच हङकङका पुकार भए । खेलको ९औँ मिनेटमा पुलिसका योगेश श्रेष्ठले डी–बक्स बाहिरबाट गरेको सशक्त प्रहार हङकङका गोलकिपर विकास कुथुले बचाए । ५६औँ मिनेटमा भोला सिलवालले हेडमार्फत उपलब्ध गराएको पासमा कप्तान जुमानु राईले बल नियन्त्रणमा लिन नसक्दा पुलिसले गोल गर्ने अवसर गुमाएको थियो । उत्तराद्र्धमा पुलिसले थप दबाब बेहोरेको थियो । हङकङले भने खेल अवधिभर नै आक्रामक शैलीका साथ गोलका अवसर सिर्जना गरे पनि पुकार ह्याट्रिक गर्नबाट चुके ।
पुलिसका प्रशिक्षक हरि खड्काले खेलाडीबीच तालेमल नमिल्नु र फिनिसिङमा समस्या भएका कारण खेल हार्नुपरेको बताए । हङकङका प्रशिक्षक नारद राईले खेलाडीहरूमा तालिमको कमीका कारण सोचेजस्तो प्रदर्शन हुन नसकेको प्रतिक्रिया दिए । हङकङका थप तीनजना खेलाडीहरू सहभागी गराइने भएकाले थ्री–स्टारविरुद्ध जितको लक्ष्यसहित प्रस्तुत हुने राईले दाबी गरे ।

प्रतिक्रिया