तिलकराम र सावित्री पहिलो

काठमाडौं : ३८औँ राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपअन्तर्गत एक सय मिटरमा तिलकराम चौधरी र सावित्री नेपाली प्रथम भएका छन् । मंगलबार पुरुषतर्फको एक सय मिटर दौडमा नेपाल पुलिसका तिलकराम निर्धारित दूरी १०.६ सेकेन्डमा पूरा गर्दै निकटमत प्रतिद्वन्द्वी याम साजन थारु र मिनबहादुर चौधरीभन्दा अगाडि रहे । निकै रोमान्चक बनेको यस प्रतिस्पर्धामा १०.८ सेकेन्डमा फिनिचिङ टच पार गर्दै नेपाल पुलिसकै यामसाजन दोस्रो भए । तेस्रो भएका त्रिभुवन आर्मीका मिन यामभन्दा ०.१ सकेन्डले मात्र पछि रहे । यता सोही स्पर्धाको महिलातर्फ १३ सेकेन्डमा निर्धारित दूरी पूरा गरी नेपाल पुलिसकै सावित्रा पहिलो भइन् । सावित्रीभन्दा ०.१ सेकेन्डले पछि रहेकी एपिएफकी सविता चौधरी दोस्रो भइन् । १३.४ सेकेन्डको टाइमिङ निकालेकी त्रिभुवन आर्मीकी कृष्णकुमारी चौधरी तेस्रो भइन् । पाँच हजार मिटरको पुरुषतर्फ त्रिभुवन आर्मीका कल्यान बाहिया पहिलो र सोही क्लबका राजकुमार विष्ट दोस्रो भए । एपिएफका किरनकुमार मल्ल तेस्रो स्थानमा रहे । महिलातर्फ एपिएफकी कान्छीमाया कोजु पहिलो, विश्वरूपा बूढा दोस्रो र गीता खत्री तेस्रो भइन् ।
हाइजम्पमा पुरुषतर्फ एपिएफका बालकृष्ण चौधरी पहिलो, त्रिभुवन आर्मीका सूर्य खत्री दोस्रो र कास्कीका अमृत नेपाली तेस्रो भए । महिलातर्फ आर्मीकी प्रभा चौधरी पहिलो, एपिएफकी शिला चौधरी दोस्रो र सुर्खेतकी तुलसी खत्री तेस्रो भइन् । सटपुटमा पुरुषतर्फ आर्मीका बम बहादुर गुरुङ र धीरेन्द्रजंग शाह क्रमश: पहिलो र दोस्रो स्थानमा रहे । नेपाल पुलिसका नरेन्द्रजंग शाह तेस्रो भए । महिलातर्फ आर्मीकी अञ्जुकुमारी दहौरा पहिलो, पुलिसकी हिरन चौधरी दोस्रो र बाँकेकी पार्वती जोशी तेस्रो भइन् । (सौस)

प्रतिक्रिया