थ्री–स्टारलाई लक्ष्मीको साथ

काठमाडौं : विगत एक वर्षभन्दा बढी समयदेखि प्रमुख प्रायोजकविना नै फुटबल खेलिरहेको ‘ए’ डिभिजन क्लब थ्री–स्टारले लक्ष्मी बैंकको साथ पाएको छ । लक्ष्मी बैंकले तीन वर्षका लागि थ्री–स्टारसँग मुख्य प्रायोजकका रूपमा मंगलबार सम्झौता गर्‍यो । सम्झौता अनुसार लक्ष्मी बैंकले हरेक वर्ष थ्री–स्टारलाई २० लाख रुपियाँ दिनेछ । थ्री–स्टारले भर्खरै ७५ लाख रुपियाँ उपाधि राशिको सहिद स्मारक ‘ए’ डिभिजन लिग जितेको थियो ।
लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन जोशी र थ्री–स्टारका अध्यक्ष ललितकृष्ण श्रेष्ठबीच सम्झौता पत्रमा हस्ताक्षर भयो । यस सम्झौतासँगै थ्री–स्टार अब लक्ष्मी बैंक थ्री–स्टार हुनेछ । यसअघि नविल बैंक र मेगा बैंकले पनि थ्री–स्टारसँग मुख्य प्रायोजकका रूपमा सहकार्य गरेका थिए । ‘मुख्य प्रायोजक नहँुदा विगत केही समय थ्री–स्टार निकै कठिन मोडबाट गुज्रियो । यद्यपि, क्लब पदाधिकारी र खेलाडीको मिहेनतका कारण हामीले लिग जित्यौँ ।’सम्झौतापछि थ्री–स्टारका अध्यक्ष ललितकृष्णले भने ।
हालसालै अमेरिकाबाट फर्किएका थ्री–स्टारका संस्थापक अध्यक्ष दिनकर अमात्य तथा नेपालमै रहेका सञ्जीव तुलाधरको अगुवाइमा थ्री–स्टारले लक्ष्मी बैंकको साथ पाएको बुझिएको छ । क्लबले मुख्य प्रायोजक नपाएका कारण थ्री–स्टारका खेलाडीको करिब एक वर्षसम्मको तलब रोकिएको बुझिएको छ । थ्री–स्टार चाँडै नै खेलाडीलाई दिन बाँकी पारिश्रमिक चुक्ता गर्ने तयारीमा रहेको एक पदाधिकारीले जानकारी दिए । (सौस)

प्रतिक्रिया