घर जग्गाको मूल्य अकासियो

platingओखलढुंगा, २८ चैत । पहाडी जिल्लामा घर जग्गाको मूल्य अकासिएको छ । राजधानीलगायतका मुख्य सहरमा समेत घरजग्गा कारोबारमा मन्दी छाएको समयमा भने पहाडी जिल्ला ओखलढुंगाको सदरमुकाम र आसपासका गाविसमा जग्गाको मूल्य अकासिएको हो ।

मोटर बाटोको सुविधा पुगेपछि सदरमुकाम र आसपासका गाविसमा बजारिकरण बढेपछि यहाँको जग्गाको मूल्यमा वृद्धि भएको स्थानीय बताउँछन् । जिल्ला सदरमुकाम ओखलढुंगा, छिमेकी गाविसहरू रामपुर, रुम्जाटार, अँधेरी नारायणस्थान, सल्लेरी, ज्यामिरे, टोक्सेल हर्कपुर, पश्चिमी गाविस खिजिफलाटे, चण्डेश्वरी, गाम्नाङ्टार, श्रीचौरलगायतका गाविसमा मोटरबाटो पुगेपछि सहरिकरण सुरु भएको छ ।
गाउँमा समेत सहरिकरण हुन थालेपछि जग्गाको मूल्य ज्याँदै बढ्न थालेको हो । मोटरबाटो पुगेका र बजारिकरणको सम्भावना भएका गाविसहरूमा एक वर्षअघिको तुलनामा दोब्बर वृद्धि भएको छ । जिल्ला सदरमुकाममा चार वर्षअघि पाँच लाख रुपियाँमा बिक्री भएको जग्गा अहिले ४० देखि ५० लाख रुपियाँ सम्ममा बिक्री हुने गरेको व्यवसायीहरू बताउँछन् ।
काठमाडौं, विराटनगरलगायतका सहरहरूमा घरजग्गाको मूल्य स्थिर रहेको बेला पूर्वी पहाडी जिल्लाका सदरमुकामहरूमा जग्गाको मूल्य वृद्धि भएको व्यवसायी दिलबहादुर खत्रीले बताए । ‘यहाँ अहिले धेरै सुविधा आउन थालेको छ । गाउँबाट विदेश गएकाहरूले फर्केर आउँदा सदरमुकाममै बस्ने रहर गर्नाले उनीहरू अरूभन्दा बढी नै लगानी गरेर घडेरी किन्ने गर्नाले पनि जग्गाको मूल्य ह्वात्तै आकासिएको हो’ खत्रीले भने, ‘जग्गाको मूल्य अझै वृद्धि हुने सम्भावना छ ।’
जिल्ला सदरमुकाम र नजिकका केही गाविसहरूलाई समेटेर ओखलढुंगामा नगरपालिका घोषणा हुने तयारी भएकाले पनि जग्गाको मूल्यमा वृद्धि भएको ओखलढुंगा नगरोन्मुख गाविसका गाविससचिव नइन्द्रराज राई बताउँछन् । अहिले जिल्ला सदरमुकाममा ठाउँअनुसार हातले नापेर एकदेखि दुई लाख सम्ममा घडेरीको किनबेच हुने गरेको छ ।
मूल्य वृद्धिसँगै ओखलढुंगा घर भई काठमाडौंमा घरजग्गाकै व्यवसाय गरेर बसेका व्यवसायीसमेत जिल्ला आएर जग्गामा लगानी गर्न थालेका छन् । काठमाडौंमा जग्गा किनबेच नचलेकाले केही वर्षदेखि गरेको लगानी उठाउन नसकेका व्यवसायीहरू ओखलढुंगा आएर जग्गाको प्लटिङ गरी हातको हिसाबले घडेरी बिक्री गर्न थालेका बताउँछन् । टाढाटाढा घर भएर प्राय: सुनसान हुने जिल्ला सदरमुकाम दुई वर्षको अवधिमा सयौँ पक्की घर बनिसकेका छन् ।
यहाँ सामान्य नोकरी तथा व्यापार व्यवसाय गरेर बसेका र विदेशबाट फर्केका मानिसले घडेरी किनेर घर बनाउने गरेका छन् । ‘अहिले नै जग्गाको भाउ अकासिएको छ, सुनकोसीमा पक्की पुल बनेपछि यहाँको घरजग्गा कारोबार झन् बढ्ने निश्चित छ’ स्थानीय प्रकाश श्रेष्ठले भने, ‘अहिले जिल्ला सदरमुकाममा एउटा घडेरी जोड्न कम्तीमा २५ देखि ३५ लाख रुपियाँसम्म लाग्छ भने घर बनाउन न्यूनतम ४० लाख रुपियाँ खर्च हुन्छ ।’ जिल्ला सदरमुकामनजिक र सहरिकरण हुँदै गरेका गाविसमा समेत एउटा घडेरीको १० देखि १२ लाख रुपियाँ पर्न थालेको छ ।

प्रतिक्रिया