चुनावी तालमेल गर्न एमाओवादी विश्वासिलो छैन : मोर्चा

काठमाडौं, २८ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आगामी संविधानसभा चुनावमा एकीकृत माओवादीसितको सहकार्यलाई संघीयतासित जोडेर हेरेको छ । संघीयतामा दलहरूबीच हुने धु्रवीकरणपछि मात्रै उसले चुनावी तालमेल गर्ने/नगर्ने टुंगो लगाउनेछ ।

संघीयताका सम्बन्धमा कांग्रेस र एमालेभन्दा एमाओवादीसित आफ्नो एजेन्डा मिल्ने भए पनि मोर्चा तराईमा धेरै प्रदेश बनाउन नहुने पक्षमा छ । यसमा एमाओवादी तयार देखिएको छैन ।
अघिल्लो सरकारको गठबन्धनमा सामेल मोर्चा सम्बद्ध जनअधिकार फोरम लोकतान्त्रिक, तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टीसहितका दल एमाओवादीसँग नजिक छन् । अबको चुनावमा कार्यगत एकता वा सहकार्य गर्ने सहमति नभइसकेको उनीहरूले जनाएका छन् । यद्यपि उनीहरूले संघीयताका पक्षमा दृढतासाथ उभिने दलसँग सहकार्य गरेर चुनावमा जाने मनस्थिति भने बनाएका छन् ।
फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले चुनावका लागि एमाओवादीसँग कार्यगत एकता गर्ने भन्ने निर्णय नभएको बताए । ‘चुनावमा सहकार्य वा कार्यगत एकताको विषय छलफलकै क्रममा छ,’ उनले भने । सहकार्यका लागि संविधान निर्माणका विवादित विषयमा नीतिगत प्रष्टता आवश्यक रहेको उनले बताए । अब संविधान निर्माणको सवाल संघीयतासहितको पहिचानसँग जोडिएको उल्लेख गर्दै नेता देवले भने, ‘नीतिगत रूपमा पहिचानका विषयमा एक ठाउँमा आउनुपर्ने अठोट अहिलेको आवश्यकता हो ।’
चुनावमा कार्यगत एकताभन्दा पनि संघीयताको पक्षमा जनमत बढाउन एमाओवादीसँग मिल्न सकिने एक मधेसी नेताले बताए । ‘मधेसमा एमाओवादीको आफ्नै स्वार्थ होला, केही भोट पनि पाउँछ तर पहाड र हिमाली भेगमा मधेसका दलले भोट पाउने अवस्था नगन्य छ । यसकारण पनि चुनावी सहकार्य हुने सम्भावना कम छ,’ ती नेताले भने ।
कांग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनशक्ति पार्टीबीच अघोषित एकता भएको उल्लेख गर्दै तराई–मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले संघीयता पक्षधरबीच पनि सहकार्य हुनसक्ने सौर्यलाई बताए । ‘कांग्रेस, एमाले राप्रपाहरूको अघोषित एकता हुन्छ भने संघीयता पक्षधरबीच पनि सहकार्य हुनसक्छ,’ उनले भने ।
यसअघि एमाओवादी नेतृत्वको सरकार रहँदा बनेको सत्तारूढ मोर्चा संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले नै चुनाव र संघीयता सुनिश्चित गर्ने त्रिपाठीको दाबी छ । ‘चुनाव र संघीयतालाई सुनिश्चित गर्न गठबन्धनको आवश्यकता छ । यो गठबन्धनका कारण कांग्रेस–एमालेलाई चिन्ता छ भने हामी त्यो चिन्ता घटाउन सक्दैनौँ,’ नेता त्रिपाठीले भने ।
प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार गठनलगत्तै बसेको गठबन्धन बैठकपछि नेताहरूले संविधानसभा चुनावमा मोर्चासहित अन्य केही साना दलसँग कार्यगत एकता गर्ने दाबी गरेका थिए । सोही बैठकमा बाबुराम भट्टराई सरकारमा गतिलो साथ दिएका मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारले चुनावमा एमाओवादीसँग कार्यगत एकता गर्न सकिने बताएका थिए ।
तर, गच्छदार नेतृत्वकै दलका नेताले पनि तालमेल गर्ने सहमति नभएको बताए । गठबन्धन बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले चुनावमा मिलेर मात्रै दुवै शक्ति बलियो हुने भन्दै प्रस्ताव गरेपछि गच्छदारले स्वीकार गरेको स्रोतले जनाएको छ ।
पार्टी विभाजनपछि कमजोर हुने देखेर चुनावको परिणाम आºनो पक्षमा ल्याउन दाहालले कार्यगत एकताको प्रस्ताव गरेको मधेसी नेताहरूको बुझाइ छ । सोही बैठकपछि एमाओवादीले मधेसी दलसहित गठबन्धनका अन्य दलसँग पनि चुनावी कार्यगत एकता गर्ने दाबी गरेको थियो ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो चुनावमा एमाओवादीसँग तालमेल नहुने दाबी गरे । संघीयता पक्षधरबीच संविधान निर्माणका
विषयमा भने सहकार्य हुने महतोको भनाइ छ । ‘बैठकमा चुनावी गठबन्धन बनाएर जान सकिन्छ कि भन्ने एमाओवादी अध्यक्ष प्रचण्डको प्रस्ताव थियो,’ महतोले सौर्यसँग भने, ‘गठबन्धन बनाएर चुनावमा जाने सहमति बनेको छैन । यो कठिन काम हो ।’ एमाओवादीसँग चुनावी तालमेल गर्ने कुनै सम्भावना नरहेको स्पष्ट पार्दै उनले गलत प्रचार भएको दाबी गरे ।
अघिल्लो सरकार हुँदाको सत्ता गठबन्धनको बैठकपछि प्रवक्ता रहेका प्रेमबहादुर सिंहले साझा घोषणापत्र बनाएर चुनावमा जान सकिने बताएका थिए । महतोले भने चुनावमा साझा घोषणापत्र बनाउनेबारे कुनै पनि सहमति नबनेको बताए । मधेसी दलको आधार तराई–मधेसमा मात्र रहेको संकेत गर्दै उनले पहाड र हिमाली क्षेत्रमा आफूहरू जानसक्ने आधारै नभएकाले एमाओवादीसँग कुनै पनि प्रकारको सहकार्य हुन नसक्ने प्रस्ट्याए ।
मोर्चासहितका मधेसी दलहरू तराई बढीमा दुई प्रदेश मात्र चाहन्छन् । झापा, मोरङलाई अलग गरी प्रदेश निर्माण गर्न नहुने उनीहरूको अडान छ । ‘तराई–मधेसको भागलाई अरूसँग जोड्न दिँदैनौँ,’ तमलोपाका त्रिपाठीले भने, ‘झापा, मोरङलाई छुट्टयाएर प्रदेश बनाउने र अखण्ड सुदूरपश्चिम भन्ने माग हामीलाई स्वीकार्य छैन ।’
एमाओवादीले बलियो शक्तिका रूपमा उदाउन चुनावमा मधेसीसहित केही साना दलसँग साझा घोषणापत्र र उम्मेदवार बनाउने तयारी गरेको स्रोतको दाबी छ । यसका साथै, चुनावमा लाग्ने खर्चसमेत सामूहिक रूपमा बेहोरेर जान सकिने उसको रणनीति छ । सत्ता गठबन्धन कायम हुँदाकै जस्तो साथ पाउने आशा एमाओवादीले गरे पनि तमलोपा, फोरम लोकतान्त्रिक पार्टीको पनि छुट्टै चुनावी कार्यक्रम ल्याउने तयारी छ । केही मुद्दामा कार्यगत एकता हुने भए पनि चुनावमा आºना दलको छुट्टै कार्यक्रम हुने ती दलको दाबी छ ।
गत चुनावबाट मधेसमा ठूलो शक्तिका रूपमा उदाएको उपेन्द्र यादव नेतृत्वको फोरमले भने चुनावलाई आलोचनात्मक समर्थन गरिरहेको छ । यता, नेता त्रिपाठी संसदीय नभई संविधानसभा चुनाव भएकाले विरोध गर्ने दलहरू ‘प्रतिगामी’लाई सहयोग पुर्‍याउन उद्यत रहेको टिप्पणी गर्छन् ।

प्रतिक्रिया