१४ इप्रकामा डिएसपीलाई ‘इन्चाज’ बनाइने

काठमाडौं, २६ चैत । गृह मन्त्रालयले मुलुकका १४ इलाका प्रहरी कार्यालयमा डिएसपीलाई ‘इन्चार्ज’ बनाउने निर्णय गरेको छ । गृहको निर्णयले हालसालै सरुवा गरिएका प्रहरी निरीक्षकको ‘इन्चार्ज’ बन्ने सपना समाप्त गरेको छ ।

प्रहरी प्रधान कार्यालयको प्रस्तावमा गृहले उपत्यकाका दुईवटा प्रभागसहित मुलुकभरका १४ वटा इप्रकामा डिएसपी इन्चार्ज हुने निर्णय गरेको हो । उपत्यकाका थानकोट र कीर्तिपुर प्रभागमा अब डिएसपी इन्चार्ज रहनेछन् । त्यस्तै, उपत्यकाबाहिर झापाको काँकडभिट्टा र दमक, उदयपुरको कटारी, सुनसरीको इटहरी, सिरहाको लहान, दाङको तुल्सीपुर, बाँकेको कोहलपुर, महोत्तरीको बर्दिवास, कैलालीको टीकापुर, नवलपरासीको नवलपुर कावासोती, सुनसरीको इटहरी, चितवनको माडी इप्रकामा इन्चार्ज डिएसपी हुनेछन् ।
‘१४ वटा कार्यालयमा प्रमुख डिएसपी रहने गरी प्रधान कार्यालयले गृहमा प्रस्ताव गरेको थियो, सोही प्रस्तावअनुसार गृहबाट आदेश आइसकेको छ,’ प्रहरी प्रवक्ता केशव अधिकारीले भने ।
इप्रकामा यसअघि कार्यालय प्रमुखका रूपमा प्रहरी निरीक्षक रहने व्यवस्था थियो । प्रधान कार्यालयले ‘इन्चार्जसिप’ नपाएका तर कार्यदक्षताका आधारमा काबिल प्रहरी निरीक्षकलाई ती इप्रकामा सरुवा गरेको थियो । गृहको निर्णयले उनीहरूको ‘इन्चार्ज’ बन्ने चाहना सरुवा गरिएको कार्यालयमा हाजिर नहुँदै सकिएको छ ।
सरुवा गरिएका ती इप्रका ‘मालदार’ मानिन्छन् । कतिपय प्रहरी निरीक्षकले प्रहरी महानिरीक्षकसँगको भेटमा त्यहाँ सरुवा गरिदिन अनुरोध गरेका थिए । ‘सेवा सुरु गरेको यतिका वर्षपछि बल्ल इन्चार्ज हुने मौका मिल्यो । मागेअनुसारकै कार्यालयमा सरुवा पनि भयो । तर, बीचमै कुरा अर्कै भइसकेछ । हामी त सहिद नै भइयो नि †’ सरुवा भएका तर हाजिर हुन नपाएका एक प्रहरी निरीक्षकले भने ।
केही दिनअघि प्रधान कार्यालयले प्रहरी निरीक्षकहरू काँकडभिट्टामा कृष्ण खड्का, दमकमा गोपालप्रसाद पोखरेल, कीर्तिपुरमा गोविन्द थापा, थानकोटमा तेजेन्द्र पौडेल, कटारीमा दीपकुमार कार्की, इटहरीमा दिलबहादुर सुवेदी, लहानमा पुरुषोत्तम सिलवाल, तुल्सीपुरमा प्रकाश डाँगी, कोहलपुरमा बाबुकाजी गिरी, बर्दिवासमा भीष्म हुमागाईं, टीकापुरमा भेषबहादुर कुँवर, नवलपुर कावासोतीमा मोहनप्रसाद अधिकारी, इटहरीमा रविन कार्की र माडीमा राजकुमार केसीलाई सरुवा गरेको थियो ।
सरुवा गरिएका प्रहरी निरीक्षकमध्ये कसैले पनि कार्यालयको ‘इन्चार्जसिप’ पाएका थिएनन् । प्रहरीमा बढुवा हुन तथा भविष्यमा संगठनको नेतृत्वतहमा पुग्नका लागि ‘इन्चार्जसिप’को ठूलो मूल्यांकन हुन्छ । कार्यालय ‘इन्चार्जसिप’ हुँदा प्राप्त गरेको नम्बर बढुवा हुँदा जोडिने भएकाले यसलाई महत्त्वका साथ हेरिन्छ । ‘हामी अरू भन्दा कम छैनाँै, यसका लागि हाम्रो ‘प्रफमेन्स’ फाइल पल्टाएर हेर्दा हुन्छ तर गृहको पछिल्लो निर्णयले हाम्रो भविष्यमाथि नै संकट ल्याइदियो,’ एक प्रहरी निरीक्षकले भने ।
प्रधान कार्यालयले प्रहरी निरीक्षकको सरुवा गर्नुअघि नै डिएसपी इन्चार्ज बनाउने प्रस्ताव गृहमा पठाएको थियो । अपराध, जनघनत्वलगायत सबै पक्षको विश्लेषण गरेर त्यस्तो प्रस्ताव गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया