काठमाडौं, २५ चैत । एमालेका शीर्ष नेताहरू चुनावी क्षेत्रमा सक्रिय हुन थालेका छन् । संविधानसभा चुनावको मिति तय हुन नसके पनि एमाले नेताहरू निर्वाचन क्षेत्रका कार्यक्रम तय गर्दै चुनावमै केन्द्रित हुन थालेका हुन् । पार्टीका अञ्चलस्तरीय कमिटीहरू पनि चुनावी रणनीति तयार गरी निर्वाचन क्षेत्रस्तरका कार्यक्रम निर्धारण गर्ने तयारीमा जुटेका छन् ।
एमाले उत्यका समन्वय कमिटीले चुनावी तयारी भेला गरेकै भोलिपल्ट शनिबार अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र नेता केपी शर्मा ओली राजधानीका छुट्टाछुट्टै कार्यक्रममा सहभागी भए । उनीहरूले लोकतन्त्र संस्थागत गर्न र ‘अखण्डित नेपाल’लाई जोगाइराख्न संविधानसभामा एमालेलाई पहिलो पार्टी बनाउनुपर्ने तथा लोकतन्त्र पक्षधरलाई दुईतिहाइ मत चाहिने बताए । एमालेनिकट राष्ट्रिय जनसांस्कृतिक महासंघका विभिन्न घटक संगठनको सम्मेलनलाई उद्घाटन गर्न खनाल कीर्तिपुर पुगेका थिए भने वरिष्ठ नेता नेपालले कोटेश्वरमा २ नम्बर क्षेत्रीय अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरेका थिए । नेता ओली भने क्षेत्र नम्बर ४ को कपन गाउँ अधिवेशन उद्घाटन गर्न पुगेका थिए । अघिल्लो चुनावमा उपाध्यक्ष विद्या भण्डारी पराजित भएको ४ नम्बर क्षेत्रमा भण्डारीसहित एमाले नेताहरू पुगेका थिए । उपत्यका समन्वय कमिटीले उपत्यकाका सबै क्षेत्रमा चुनावी कार्यक्रम तय गर्न लागेको उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठले बताए ।
कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खनालले पहिलेका कमजोरी पहिल्याएर चुनावमा परिचालित हुन कार्यकर्तालाई निर्देशन दिएका थिए । लोकतन्त्र संस्थागत गर्न, राष्ट्रिय एकता बचाउन र बहुपहिचानसहितको संविधान बनाउन एमाले पहिलो पार्टी हुनुपर्ने उनको भनाइ थियो । उनले कलाकार लक्ष्मी भुसाल र सूर्य थुलुङलाई टीका लगाएर एमाले प्रवेश गराएका थिए ।
यस्तै कोटेश्वरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले अघिल्लो चुनावमा ‘एकपटक हेरौँ’ भनेर भोट मागेको एमाओवादीले भ्रष्टाचारमा डुबेको, अपराधीको संरक्षण गरेको र राष्ट्रियतामाथि जुवा खेलेको आरोप लगाउँदै एमालेलाई पहिलो पार्टी बनाउन आह्वान गरे । मुलुकको स्थिरता र राष्ट्रिय स्वाधीनताका लागि एमालेलाई पहिलो पार्टी र एमाले संलग्न पक्षलाई दुईतिहाइ मत दिनुपर्ने उनको भनाइ थियो ।
पार्टीबाट पर्याप्त फाइदा उठाई रामचन्द्र झाले एमाले परित्याग गरेको उल्लेख गर्दै उनले एमालेप्रतिको आकर्षण बढेको जिकिरसमेत गरे । ‘एमाले भ्रष्टाचारविरोधी पार्टी हो,’ उनले भने, ‘नेतृत्व भ्रष्टाचारमा डुबेको, अपराधीको संरक्षक र राष्ट्रियतामाथि जुवा खेल्नेलाई अब चिन्नुपर्छ, अरूलाई पटकपटक हेर्दा पनि नदेखिएको भ्रष्टाचार एमाओवादीमा एकैपटक देखिएको छ । अब अर्काेपटक हेर्नै पर्दैन ।’
कपनमा आयोजित सभालाई सम्बोधन गर्दै नेता ओलीले पनि विगतमा संविधानसभामा एमाओवादी पहिलो पार्टी भएकैले संविधान नबनेको दाबी गर्दै आफूले चुनावी परिणाम आउनेबित्तिक्कै भनेको कुरा सत्य सावित भएको बताए । ‘संसारको सबैभन्दा बढी समावेशी संविधानसभा बनाइएको थियो तर किन संविधान बनेन ?’ ओलीले भने, ‘संविधान बनाउन नदिने, जातीय झगडा चर्काएर मुलुक बिखण्डन गर्ने तत्त्वलाई पहिलो पार्टी बनाएर पठाएकाले संविधान बन्न सकेन । मैले त्यतिबेलै भनेको थिएँ बाँदरलाई खेताला लगाएर मकैको कुन्यु ठडिँदैन ।’
एमाओवादीलाई ‘अग्रगामी शक्ति ठान्ने भ्रम’ जनताबाट हटेको दाबी गर्दै उनले अबको चुनावमा एमालेको बर्चस्व रहेको लोकतान्त्रिक शक्तिलाई दुईतिहाइ मत दिन आह्वान गरे ।
प्रतिक्रिया