स्ववियु चुनाव मिश्रित प्रणालीमा

काठमाडौं, २४  चैत । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव मिश्रित प्रणालीमा गराउने भएको छ ।  त्रिवि सभाले शुक्रबार स्ववियु चुनावसम्बन्धी नियमावली संशोधन गरी चुनावमा मिश्रित प्रणाली अपनाउने निर्णय गरेको हो । त्रिवि कार्यकारी परिषद्ले यसअघि नै नियमावली संशोधन प्रस्ताव गरेको थियो । स्ववियुको नियमावली संशोधनसँगै चुनाव गर्ने बाटो पनि खुलेको छ । त्रिविका

अतिरिक्त क्रियाकलाप प्रमुख गंगाबहादुर थापाले नियमावली संशोधनपछि चुनावको बाटो खुलेको जानकारी गराए । एक दुई दिनभित्र बस्ने त्रिवि कार्यकारी सभाको बैठकले चुनावको मिति घोषणा गर्ने थापाले बताए ।
‘लामो समयदेखि विवादित रहेको स्ववियु चुनावको प्रणाली मिश्रितमा जाने निर्णय गरियो,’ उनले सौर्यसँग भने, ‘अब एक दुई दिनभित्र वैशाखको अन्तिम साता हुने गरी चुनावको मिति तोकिन्छ ।’
विद्यार्थी संगठनबीच प्रणालीका विषयमा विवाद हुँदा स्ववियु चुनाव २०६७ सालदेखि हुन सकेको छैन । नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले मिश्रित प्रणालीको विरोध गर्दै आएका थिए ।
मिश्रित प्रणालीमा अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष तथा उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक हुने भएका छन् । उपाध्यक्ष र सहसचिवलाई कार्यसमितिले चयन गर्नेछ ।
नेविसंघ र अनेरास्ववियुले प्रस्तावमै नसमेटिएको निर्णय सभाले गरेको भन्दै असन्तुष्टि जनाएका छन् । सभाका सदस्य गुणराज आचार्यले प्रस्ताव नै नगरिएको कुरा एक्कासि लगिएकाले विरोध गरेको बताए । अनेरास्वविुका प्रतिनिधि रहेका आचार्यले अनेरास्ववियु क्रान्तिकारीको एजेन्डामा सभाले जबरजस्ती मिश्रित प्रणालीमा पेलेर लगेको बताए । ‘नियमावली संशोधन प्रस्तावमा मिश्रितमा पदाधिकारी प्रत्यक्ष भनिएको थियो,’ उनले भने, ‘तर, अहिले आएर क्रान्तिकारीको एजेन्डामा लगियो ।’
उनका अनुसार मिश्रित प्रणालीमा पदाधिकारी प्रत्यक्ष र सदस्य ५०/५० प्रतिशत समानुपातिक र प्रत्यक्षबाट चुनिने प्रस्ताव गरिएको थियो । अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले भने सभापति, सचिव र कोषाध्यक्ष प्रत्यक्ष तथा उपसभापति र सहसचिव समानुपातिक र सदस्य समानुपातिकबाट चुन्नुपर्ने माग गरेका थिए ।
अनेरास्वयिुका अध्यक्ष माधव ढुंगेलले आलोचनात्मक रूपमा स्ववियु चुनावमा भाग लिने प्रतिक्रिया दिए । त्रिविले पेलेर लगे पनि विद्यार्थी हकहितका लागि स्ववियु चुनावको सुनिश्चिता भएकाले चुनावमा भाग लिइने ढुंगेलले बताए । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य लेखनाथ पोखरेलले त्रिविले पेलेर लैजान नपाउने बताए ।
अर्को चुनावलाई उमेर हद
यसपटकको चुनावमा उम्मेदवारलाई उमेरको हदबन्दी नतोकिने भएको छ । त्रिविले ३२ वर्षे उमेर हदको व्यवस्था गर्ने तयारी गरे पनि यसपटक तोकिएको छैन । अर्को चुनावमा उम्मेदवारको उमेर हद २८ वर्ष बनाउने सभाले निर्णय गरेको छ । अतिरिक्त क्रियाकलाप प्रमुख थापाले यस वर्षको चुनावमा नभई अर्को चुनावमा उम्मेदवारको उमेर हद २८ वर्ष तोकिएको जानकारी गराए ।
स्ववियुमा चुनिएका पदाधिकारीको अवधि सैद्धान्तिक परीक्षा सकिएलगतै स्वत: समाप्त हुने निर्णयसमेत सभाले गरेको छ । अब क्याम्पसमा उत्कृष्ट आउने छात्राछात्र पनि स्ववियुको कार्यसमितिमा रहनेछन् । चुनाव हुन नसके ६ महिना कार्यसमिति थप गर्न सक्नेछ ।
यस्तै, सभाले २ सयसम्म विद्यार्थी हुने क्याम्पसमा ११, दुई सयदेखि १ हजारसम्म १५ जना, १ हजार १ देखि ३ हजार १ सम्म १९, ३ हजार १ भन्दा माथि विद्यार्थी संख्या भएमा २१ जना पदाधिकारी रहने व्यवस्था गरेको छ ।
सभामा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले त्रिविले वैज्ञानिक शिक्षा दिनुपर्ने बताएका थिए । त्रिविका कुलपतिसमेत रहेका रेग्मीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशअनुरूप विश्वविद्यालय शिक्षालाई परिमार्जन गर्न सुझाएका थिए ।

प्रतिक्रिया