रोल्पामा १ सय ६४ अवैध हतियार संकलन

Banduk-Rolpaरोल्पा, २३ चैत । जिल्ला प्रहरी कार्यालय रोल्पाले १ सय ६४ थान अवैध हातहतियार संकलन गरी सार्वजनिक गरेको छ ।
प्रहरीले आज खलंगामा पत्रकार सम्मेलन गरेर संकलन गरिएका हतियार सार्वजनिक गरेको हो । अवैध हातहतियार मुक्त जिल्ला घोषणा गर्ने अभियान अन्तर्गत प्रहरीले हतियार संकलन गरेको जनाएका छ ।
ईलाका प्रहरी कार्यालय सुलिचौर, घर्तीगाउं, इरिबाङ, होलेरी तथा सिर्प, गजुल, स्यूरी, गाम, भावाङ, कोटगाउं, पाखापानी प्रहरी चौकीले हतियार संकलन गरेको प्रहरीले जनाएको छ ।
बुढागाउं, सुरपाल र बागमारा अस्थायी प्रहरी पोष्टमा पनि स्थानीयले अवैध हतियार बुझाएका छन् । संकलन भएका १ सय ६४ थान हतियारमध्ये १ सय ५ थान साबुत र ५९ थान हतियार बेसाबुत भएको प्रहरीले उल्लेख गरेको छ । अवैध हतियारमा १ सय ६३ थान भरुवा बन्दुक र एक थान घरेलु कटुवा पेस्तोल छन् ।

प्रतिक्रिया