गीत चले पनि गायक छायामा

kushal-thalangकाठमाडौं : पछिल्लो समय लाखौ श्रोताको मन जित्न सफल गायक कुशल लिम्बू ‘थलङ’को भने यतिखेर मन दु:खेको रहेछ । गीत ‘हिट’ भए पनि कसैले नचिन्दा उनको मन दुख्नु स्वाभाविकै हो ।
‘गीत त हिट भयो तर यसको श्रेय अर्कैलाई गएको छ’ कुशलले भने, यो मात्र हैन ‘ऋतु राम्रो वसन्तले हरियाली छाउँदा’ बोलको मेरो गीतमा पनि यस्तै भएको छ । गीत मन पराउने श्रोताले आफैंलाई नचिन्दा साह्रै मन दुख्दो रहेछ, उनले गुनासो पोखे ।
प्रचारप्रसारविना नै पनि गीत हिट भएकाले आफू ओझेलमा परेको उनले अनुमान लगाए र भने, ‘गायक चिनिन त मिडियामै छाउनु पर्दा रहेछ ।’
माथि उल्लेखित दुबै गीत कुशलका एल्बम ‘साथ’मा छन् । पहिलो एल्बमको डेढ वर्षपछि उनी अहिले दोस्रो एल्बम ‘साथ–२’ को तयारीमा छन् । पहिलो एल्बममा ओझेलमा परेका लिम्बू यसपालि प्रमोसनलाई जोड दिने सोचाइमा छन् । वर्ष ०७० को प्रारम्भमै एल्बम बजारमा ल्याउने सोच उनको छ । यसका लागि उनले दुइवटा गीतको म्युजिक भिडियोसमेत बनाएका छन् । पहिलो एल्बम डिभिडीमा ल्याएका लिम्बूको यो एल्बम पनि डिभिडीमै ल्याउने सोच छ ।
०६२ मा ‘पूर्वाञ्चल आइडल’ धरानमा प्रथम भएपछि औपचारिक रूपमा गायन अंगालेका कुशलले सांगीतिक करिअर मोफसलबाटै सुरु गरेका हुन् तर विगत पाँच वर्षदेखि उनी राजधानीमै संघर्षरत छन् । दर्जनभन्दा बढी चलचित्रका गीत गाइसकेका लिम्बूको लक्ष्य एक कुशल गायक बन्ने रहेको छ ।

प्रतिक्रिया