बालकृष्ण ढुंगेललाई कब्जामा लिने चेतावनी

balkrishnaखोटाङ, २३ चैत । युवा संघ नेपालका सचिव रमेश पौडेलले हत्याको आरोपमा सर्वस्वसहित जेल सजाय भएका एमाओवादी नेता बालकृष्ण ढुंगेललाई सरकारले पक्राउ नगरे संघले नै पक्राउ गर्ने चेतावनी दिएका छन् ।

युवा संघ खोटाङले बिहीबार दिक्तेलमा गरेको युवा भेलालाई सम्बोधन गर्दै सचिव पौडेलले हत्याको आरोपी ढुंगेललाई सरकारले कारबाही नगरे संगठनले कारबाही गर्ने चेतावनी दिएका हुन् । सचिव पौडेलले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबाट सम्पत्ति छानबिन थालिनु पर्ने बताए । एमाओवादीले एमालेका केही नेतालाई अथाह सम्पत्ति कमाएको आरोप लगाउनुभन्दा आफ्ना कार्यकर्ताको सम्पत्ति छानबिन गर्न अनुरोध गरे ।
यस्तै, युवा संघका पूर्वाञ्चल संयोजक पर्शुराम बस्नेतले आगामी निर्वाचनलाई लक्षित गरी ‘इफेक्टिभ युथ ग्रुप’ गठन गर्ने बताए । आठौँ महाधिवेशनले नै यसलाई पारित गरेको जानकारी दिँदै बस्नेतले प्रत्येक निर्वाचन बुथमा ‘इफेक्टिभ युथ ग्रुप’ परिचालन गरिने बथाए । उनले वाइसिएलको गुन्डागर्दी, हत्याहिंसाविरुद्ध लडेर निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउनका लागि ‘इफेक्टिभ युथ ग्रुप’ परिचालनको तयारी गरिएको स्पष्ट पारे । युवा संघलाई लागेको ‘डन’को आरोपको खण्डन गर्दै संघका सचिवालय सदस्यसमेत रहेका बस्नेतले वाइसिएल परिचालन गर्ने एमाओवादी अध्क्षक्ष दाहाल ‘डन’ भएको उल्लेख गरे ।
खोटाङमा अवैध हातहतियार संकलन नभएको भन्दै युवा संघ खोटाङले अवैध हातहतियार खोजतलास गरेर स्थानीय प्रशासनलाई बुझाउने भेलामा बताइएको थियो । भेलाले आठ बुँदे घोषणापत्र जारी गर्दै युवा संघले जिल्लामा वन पैदावार निकासी पैठारीमा रोक लगाउने, गाविसको लेखापरीक्षण गराउने, विषादि र करेन्ट लगाएर माछा मार्न रोक लगाउने, सरकारी कार्यालयको अनियमितताका बारेमा छड्के अनुगमन गर्ने, बजार मूल्य अनुगमन तथा कालोबजारी नियन्त्रण गर्ने, जुवातास नियन्त्रण गर्ने लगायतका भावी योजना सार्वजनिक गरेको छ ।

प्रतिक्रिया