सहकारीमा स्पस्ट नीति बनाउन माग

म्याग्दी : म्याग्दीका सहकारीकर्मीले सरकारले सहकारीलाई करको दायरामा ल्याउने विषयमा स्पष्ट नीति बनाउनुपर्ने माग गरेका छन् ।
५६औँ सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ म्याग्दीले आयोजना गरेको ‘सहकारी कर र आगामी कार्यदिशा’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागीले त्यस्तो माग गरेका हुन् । सहभागीले सरकारले सहकारीलाई करको दायरामा ल्याउने घोषणा गरे पनि यससम्बन्धी स्पष्ट नीति नहुँदा अन्योल उत्पन्न भएको गुनासो गरे । उनीहरूले गरिबी निवारणमा उल्लेख्य भूमिका खेलेका कारण सहकारीलाई कर छुट हुनुपर्ने पनि माग पनि गरेका छन् । सो अवसरमा डिभिजन सहकारी कार्यालय बाग्लुङका प्रमुख विष्णुप्रसाद सुवेदीले सहकारी करमुक्त क्षेत्र भएको बताए । उनले सहकारीलाई करको दायरामा ल्याउने विषयमा स्पष्ट नीति नहुँदा अन्योल उत्पन्न भएकोमा जोड दिए ।
डिभिजन प्रमुख सुवेदीले सहकारी गाउँ तथा समुदाय केन्द्रित र पारदर्शितामा संवेदनशील बन्नुपर्ने सुझाव दिए । कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कुविरकुमार श्रेष्ठ, संघका संस्थापक तथा म्याग्दीकाली सञ्चार सहकारी संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठ र दरबाङ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मोतिराज उपाध्यायले जिल्ला सहकारी संघको संस्थागत विकासमा ध्यान दिन सुझाव दिए ।

प्रतिक्रिया