त्रिपक्षीय सहकार्य आवश्यक

काठमाडौं, २१ चैत । उदीयमान अर्थतन्त्र भएका दुई ठूला मुलुक चीन र भारतको बीचमा नेपाल रहनु अवसर भएको नेपालका लागि चिनियाँ राजदूत वु छुन्थाइले बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको अध्यक्षतामा नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत वु छुन्थाइको स्वागतमा मंगलबार आयोजित कार्यक्रममा राजदूत छुन्थाइले नेपालको विकासका लागि नेपाल, चीन तथा भारतबीच त्रिपक्षीय सहकार्यको आवश्यकता रहेकोमा जोड दिए ।

नेपाल र चीनबीचको हालको व्यापार घाटा कम गर्न नेपालमा चिनियाँ पर्यटकलगायत अन्य सेवा क्षेत्रहरूको विस्तार महत्त्वपूर्ण उपाय हुनसक्नेमा उनले जोड दिए । सन् २०११/०१२ को तथ्यांकअनुसार नेपाल र चीनबीचको व्यापार घाटा करिब ५२ अर्ब रुपियाँ छ भने सन् २०१०/०११ मा ४५ अर्ब रुपियाँ थियो । नेपालमा चिनियाँ पर्यटक आगमन बढाउन सकिएमा व्यापार घाटालाई केही हदसम्म पूर्ति गर्न सहज हुने सुझाव सो अवसरमा उनले दिए । सन् २०११ मा जम्मा ६२ हजार चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए भने यो तथ्यांक सन् २०१० मा ४३ हजार थियो । प्राकृतिक र सांस्कृतिक श्रोतमा नेपाल निकै धनी रहेको आफूले पाएकोले नेपालमा चिनियाँ पर्यटक आकर्षणको निकै ठूलो सम्भाव्यता रहेको राजदूत छुन्थाइले बताए । उनले नेपालको पर्यटन प्रवद्र्धनमा आफ्नो देशको तर्फबाट सक्दो सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।
नेपाली पृष्ठभूमिमा चिनियाँ फिल्म निर्माण हुन लागेको र चिनियाँ टेलिभिजनमा नेपालसम्बन्धी वृत्तचित्रसमेत प्रसारण गर्न लागेको जानकारी गराउँदै उनले यसबाट नेपालमा चिनियाँ पर्यटकहरूको आगमनमा अझै वृद्धि हुने बताए । महासंघका अध्यक्ष सुरज वैद्यले पर्यटन पूर्वाधार, निर्माणलगायत ऊर्जा, खानीजन्य, उद्योग, शिक्षा, स्वास्थ्य, सौर्य ऊर्जालगायत वैकल्पिक ऊर्जामा नेपालमा चिनियाँ लगानीको आवश्यकतामा जोड दिए । महासंघका अध्यक्ष वैद्यले बढ्दो व्यापार घाटा नेपालका लागि चिन्ताको विषय भएकाले व्यापार घाटा कम गर्न नेपालमा चिनियाँ लगानी विस्तारमा सहयोग गर्न आग्रह गरे ।
नेपाल र चीनबीच आर्थिक तथा व्यापारिक र लगानीका क्षेत्रमा विद्यमान सम्भाव्यता, समस्याको अध्ययनका लागि एउटा संयुक्त अध्ययनको खाँचो आंैल्याउँदै अध्यक्ष वैद्यले दुवै देशको सरकारको सहयोगमा महासंघले यसलाई अगाडि बढाउने योजना रहेको बताए । अध्यक्ष वैद्यले अखिल चीन उद्योग वाणिज्य महासंघको सहकार्यमा नेपाल चीन गैर सरकारी सहयोग मञ्चलाई नयाँ गति दिन लागेको जानकारी गराउँदै सोही अनुसार एसिएफआइसीको प्रतिनिधिमण्डल आउँदो मे महिनामा नेपाल आउन लागेको र आगामी जुनमा महासंघको प्रतिनिधिमण्डलले चीनको अध्ययन भ्रमण गर्न लागेको बताए ।
सो अवसरमा राजदूत वु छुन्थाइले नेपालको अर्थतन्त्रमा ७० प्रतिशत योगदानसहित निजी क्षेत्रले नेतृत्वदायी भूमिका निर्वाह गरेको पाउँदा खुसी लागेको बताए । आर्थिक विकासको महत्त्वपूर्ण पाटोको रूपमा सडक सञ्जाल विकास पनि भएकाले नेपालको मध्य पहाडी पूर्व पश्चिम राजमार्गको विकासको सोच दूरगामी भएको भन्दै सडक पूर्वाधार विकासमा चीन सरकारले निरन्तर सहयोग गर्ने बताए ।
उनले चीन नेपालसँग राजनीतिक, आर्थिक, सांस्कृतिक रूपमा बृहत् सहयोगी साझेदारी मोडेलमा सहकार्य गर्न तयार रहेको बताए । चीन आफ्नो सफलतालाई छिमेकीहरूसँग बाँड्न तत्पर रहेको र जसमा नेपाल चीनको लागि मुख्य प्राथमिकतामा रहेको पनि स्पष्ट पारे ।
नेपालमा ठुल्ठूला परियोजनाहरूमा चीन सहयोग गर्न इच्छुक रहेको भन्दै पोखरा विमानस्थल, काठमाडौंको चक्रपथ निर्माण, जलविद्युत् आयोजना, पर्यटन, जडीबुटी, जैविक प्रविधिलगायतका लगानीका सम्भाव्यता रहेको उनले औंल्याए । सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको २०१४ को संस्करणमा चीनलाई कन्ट्री पार्टनरका रूपमा सहभागी हुन निमन्त्रणा गरे ।

प्रतिक्रिया