यथाशीघ्र चुनावको मिति तोक : राष्ट्रपति

Rambaran Yadavकाठमाडौं, १८ चैत । राष्ट्रपति डा. रामवरण यादवले चुनावको मिति तत्काल घोषणा गर्न दलहरूलाई आग्रह गरेका छन् । शनिबार बिहान प्रमुख दलका शीर्ष नेताहरूलाई शीतलनिवास बोलाएर उनले चुनावको मिति तोक्न भइरहेको ढिलाइप्रति असन्तुष्टि पनि व्यक्त गरे ।

चुनावी सरकार गठनप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रेका दलहरूलाई पनि सहमतिमा ल्याएर यथाशीघ्र चुनावको मिति तोक्न राष्ट्रपति यादवले दलहरूलाई सुझाएका छन् । चुनावका लागि भइरहेको तयारी र मिति तोक्नेबारे छलफल गर्न राष्ट्रपति यादवले एमाओवादी, कांग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरूलाई शीतलनिवास बोलाएका थिए ।
सरकार गठनको दुई साता बितिसक्दा पनि चुनावको मिति तोक्न नसकेकोप्रति राष्ट्रपतिले असन्तुष्टि व्यक्त गरेका थिए । तिथि तोकेपछि सार्न नपर्नेगरी निर्धारण गर्न र सबै दललाई चुनावमा भाग लिने सुनिश्चित आधार तयार गरी अगाडि बढ्न राष्ट्रपतिले नेताहरूर्ला सुझाव दिएका थिए ।
छिटो चुनावको मिति तोक्न र चुनावी अभियानमा लाग्न राष्ट्रपति यादवले दलका नेताहरूलाई आग्रह गरे । वर्तमान सरकारले गराउने चुनावमा भाग नलिने घोषणा गरेका दलहरूलाई पनि वार्तामार्फत चुनावमा अग्रसर गराउन उनले सुझाएका थिए । ‘जति सकिन्छ छिटो चुनावको मिति तोक्नुस् र असन्तुष्ट रहेका शक्तिहरूलाई पनि वर्ताबाटै सहमत गराई चुनावको माहोल बनाउनुस्’
राष्ट्रपति यादवको भनाइ उद्धृत गर्दै एमाले उपाध्यक्ष वामदेव गौतमले सौर्यसँग भने, ‘चुनावबाट मात्रै मुलुकको राजनीतिक र संवैधानिक सन्तुलन सही ठाउँमा आउन सक्छ तपाईंहरू त्यसैमा लाग्नुस् ।’
नेताहरूले आफूहरू छिटो चुनाव गराउने वातावरण निर्माण गर्न जुटेको जानकारी राष्ट्रपतिलाई गराएका थिए । ‘छिटो चुनाव गराउन राष्ट्रपतिज्यूले राख्नुभएको सदिक्षामा हामीले पनि सहमति जनायौँ,’ गौतमले भने, ‘चुनावको वातावरण बनाउन भइरहेको तयारीका विषयमा हामीले जानकारी गरायौँ ।’ दलहरूले उच्चस्तरीय राजनीतिक समितिमार्फत चुनाव तयारीका लागि मन्त्रिपरिषद्लाई गरेको सहयोगबारे पनि जानकारी गराएका थिए ।
राष्ट्रपतिले मतदाता नामावली, नागरिकता, संविधानसभा निर्वाचन र निर्वाचन आयोगसम्बन्धी कानुन संशोधन गर्ने विषयमा दलहरूबीच भइरहेको छलफलबारे जिज्ञासा राखेका थिए । ‘निर्वाचनसम्बन्धी ऐन कानुन संशोधन कहिलेसम्म गर्न सकिन्छ ? मतदाता नामावली अद्यावधिक गर्न के कठिनाइ छ ? कहिलेसम्म तपाईंहरू यस विषयमा निष्कर्षमा पुग्नुहुन्छ ?’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
दलहरूले ऐन कानुन संशोधन, नागरिकता र मतदाता नामावलीका विषयमा आफूहरू छलफलमा जुटेको र छिट्टै सहमतिमा पुग्ने बताएका थिए । यसअघि राष्ट्रपति यादवले शुक्रबार मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसँग छलफल गरी छिटो चुनावी तिथि तोक्न सुझाव दिएका थिए ।

प्रतिक्रिया