विमानस्थल निर्माणार्थ जुटे स्थानीय

गुल्मी, १८ चैत । सिमीचौर–५ थालेमालेमा निर्माण सुरु गरिएको रेसुंगा विमानस्थलको निर्माणका लागि १९ परिवारको घरजग्गाको मुआब्जा चुक्ता गर्न करिब ६५ लाख रुपियाँको अभाव भएको छ । निर्माण कार्य सुरु भएको आठ वर्षसम्म पनि विमानस्थल–निर्माणको काम पूरा नभई अलपत्र परेपछि स्थानीय रकम जुटाउन अग्रेसर भएका छन् ।

सिमीचौर–५ थालेमालेमा निर्माण सुरु गरिएको रेसुङ्गा विमानस्थल–निर्माणको कार्य राजनीतिक विवाद, घरजग्गा मुआब्जामा समस्या र रकमको अभावका कारण अलपत्र परेको हो । घरजग्गा मुआब्जा चुक्ता गर्न करिब ६५ लाख रुपियाँको अभाव छ । रकम–संकलननका लागि गुल्मीका स्थानीय बासिन्दालगायत अर्घाखाँचीका बासिन्दासँग सहयोग–संकलनन अगाडि बढेको विमानस्थल निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्तले बताए ।
अध्यक्ष पन्तका अनुसार मुआब्जा दिने रकम स्थानीयस्तरबाटै जुटाउनुपर्ने सुरुको प्रतिबद्धता भएकाले स्थानीय स्रोत नजुटेपछि १९ परिवारको जग्गाको मुआब्जा चुक्ता गर्न बाँकी नै छ । उनले भने, ‘१९ परिवारलाई ६५ लाख रुपियाँ दिनु पर्नेछ, पाँच लाख रुपियाँ त जिल्ला विकास समितिले दिने निर्णय गरिसकेको छ, बाँकी रकमका लागि जिल्लाका सबै गाविस र छिमेकी जिल्ला अर्घाखाँचीबाट समेत सहयोग जुटाउने प्रक्रिया अघि बढाएका छौँ ।’ रकम जुटाउन बिहीबार तम्घासमा सम्पन्न विमानस्थल निर्माण समितिका पदाधिकारीहरूको बैठकमा सर्वपक्षीय भेलाका लागि उद्योग वाणिज्य संघले पहल गर्ने निर्णय भएको पन्तले बताए । ६ सय १० मिटर धावनमार्गको लम्बाइ रहेको विमानस्थलको क्षेत्रफल ७८ रोपनी १० आना छ ।
उनका अनुसार चालु आर्थिक वर्षमा नागरिक उड्डययन मन्त्रालयबाट दुई करोड रुपियाँ विनियोजन भएको र विभागले टेन्डर प्रक्रिया सुरु गर्न लागेको छ । ‘विभाग दुई करोड रुपियाँको टेन्डर प्रक्रिया सुरु गर्ने तयारीमा छ, यो रकमले धावनमार्ग सम्याउने र पर्खाल लगाउने काम सकिन्छ’ पन्तले भने ।
०६१ मा विस्तृत सर्भे भएर नौ करोड रुपियाँको लागतमा सम्पन्न गर्ने गरी सुरु गरिएको विमानस्थलमा हालसम्म एक करोड रुपियाँ खर्च भइसकेको छ तापनि काम भने अधुरै रहेको छ । सुरुमा स्थानीय स्तरबाट समिति गठन गर्दा राजनीतिक दलको खिचातानी भएकाले प्रक्रिया अगाडि बढ्न नसकेको भन्दै केही समयअगाडिमात्र जिल्लास्थित राजनीतिक दलको भागबन्डामा समिति गठन गरिएको थियो । जिल्लास्तरीय समिति बने पनि कामको गति हेर्दा विमानस्थल बेलैमा बन्ने छाँट नदेखिएको स्थानीयले बताए । सिमीचौर–५ का हीरामणि अर्यालले थालेमालेमा एक करोड रुपियाँभन्दा बढी रकम खर्च भइसके पनि विमानस्थल निर्माण हुने आशा हराउँदै गएको बताए । विमानस्थल निर्माण समितिले भने स्थानीय बासिन्दामा निराशा आउन नदिई तत्काल काम अघि बढाएको बताएको छ ।
आठ वर्षका अवधिमा निर्माणाधीन विमानस्थलसम्म मोटरबाटो लैजाने, स्थानीय १६ घरपरिवारलाई मुआब्जा वितरण गर्ने, मैदान सम्याउने र पर्खाल लगाउने कार्य भइरहेको निर्माण समितिका सचिव अशोक थापाले बताए । सचिव थापाले भने, ‘सुरुका वर्षको तुलनामा पछिल्ला वर्षमा काम तीव्र गतिमा भएको छ, आउँदो वर्षसम्म धावनमार्ग सम्याउने काम सकिने छ ।’
निर्माणको काम सुरु भए पनि विमानस्थल क्षेत्रभित्र पर्ने १९ परिवारलाई अझै मुआब्जा दिइएको छैन । अधिग्रहण गर्नुपर्ने ४६ परिवारको जग्गामध्ये ३५ लाई मुआब्जा दिएर उनीहरू बसाइँ सरिसकेका छन् । निर्माण सुरु गरेको आठवर्षसम्म पनि विमानस्थलका लागि भनेर सस्तैमा आफ्नो जग्गा उपलब्ध गराएका स्थानीय बासिन्दा हाल आएर चिन्तित बनेका छ । छिटो विमानस्थलन निर्माण नभएर आफूहरूले पुरानै मूल्यांकनअनुसार जग्गा उपलब्ध गराउन नसक्ने उनीहरूको भनाइ छ ।
विमानस्थलको जग्गा सम्याउन गत वर्ष परेको रकमबाट प्रक्रियासमेत मिचेर समितिकै पदाधिकारीलाई धाँधलीपूर्वक एकलौटी ठेक्का दिइएकोमा अन्य व्यवसायीले असन्तुष्टि व्यक्त गरेका छन् । समितिले सबैलाई समेटेर पारदर्शी रूपमा काम अघि नबढाई एकलौटी निर्णय गरेकाले पनि निर्माणको काम प्रभावकारी हुन नसकेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया