लिगमा नीरज पहिलो

काठमाडौं, १७ चैत । दर्पण साकोस झापाका नीरज निरौला ललितपुरमा जारी सहकारी कप बुद्धिचाल प्रतियोगिताको लिग चरणमा पहिलो हुन सफल भएका छन् । ललितपुर महोत्सवस्थल गावहलमा शुक्रबार सम्पन्न सातौँ चरणमा कान्तिपुरी साकोसका क्यान्डिडेटमास्टर प्रचण्डमान मालाकारसँग बराबरी खेलेपछि नीरज ६ अंकका साथ पहिलो भएका हुन् । यसअघि नीरजले पाँचौँ चरणमा नेसनल डेभलपमेन्ट सहकारी ललितपुरका फिडेमास्टर मनीष हमालसँग बराबरी गरे भने छैटौँ चरणमा लालिगुराँस साकोसका राजेन्द्र बज्राचार्यलाई हराए ।
शुक्रबार सकिएको लिग चरणमा फिडेमास्टर मनीष हमाल ७ खेलबाट ५ दशमलव ५ अंक हासिल गर्दै दोस्रो भए । समान अंक भएका प्रचण्ड मालाकार तेस्रो भए । नोभा साकोसका कृष्ण थापा, भेट्रान राजेन्द्रप्रसाद श्रेष्ठ, साइनिङ साकोसका बद्रीलाल नेपाली, सिटी साकोसका रवीन्द्र शाक्य, अरुणिमा साकोसका सजिन महर्जन, श्रमिक साकोसका गणेशमान दुवाल तथा लालीगुराँस साकोसका क्यान्डिडेटमास्टर केशव श्रेष्ठ समान ५ अंकका साथ चौथोदेखि दसौँ स्थानमा रहे ।
त्यस्तै, समान ५ अंक हासिल गरेका मोरङका पूर्णराज खड्का, गोल्डेनगेट कलेजका मदनकृष्ण कायस्थ, कान्तिपुरी साकोसका मिलन रोका, सद्भाव कृषि सहकारीका अशोक मोहन श्रेष्ठ, मन्कादुखु साकोसका रिजेन्द्र राजभण्डारी, झापाका प्रकाश नेपाल तथा संकटा साकोसका नवीन तण्डुकार एघारौँदेखि सत्रौँ स्थानमा रहेर नकआउट चरण प्रवेश गरेका छन् ।
नकआउट चरण प्रवेश गर्ने अन्य खेलाडीमा गोल्डेनगेट कलेजका शुरवीर लामा, राजेन्द्र बज्राचार्य, राजन पुरी, विश्वविजय घिमिरे, सिटी साकोसका बाबुराजा महर्जन, नेपाल सहकारी संस्था सप्तरीका सिंगेश्वर दास, पुण्यमान कर्माचार्य, श्यामसुन्दर श्रेष्ठ, हरिचन्द्र चौलागाईं, लवकुमार श्रेष्ठ, भोजपुरका सुमन राई, रत्न व्यञ्जनकार, दामोदर गाइजू, राहुल चौ प्रधान तथा मनोज विक रहेका छन् ।
ललितपुर महोत्सव, ललितपुर स्पोर्टस क्लब तथा ५६औँ राष्ट्रिय सहकारी दिवस २०६९ ललितपुर मूल आयोजक समितिको संयुक्त आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत शनिबार हुने नकआउट चरणबाट १६ खेलाडी प्रिक्वार्टर फाइनलमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया