अब बस्ने मन्त्रिपरिषद्ले चुनावको मिति तोक्ने

Upendra-Yadavकाठमाडौं, १४ चैत । सरकारले संविधानसभाको दोस्रो चुनाव आगामी असारको पहिलो हप्ता गर्नेगरी मिति तोक्ने तयारी गरिरहेको छ । यसका लागि उसले निर्वाचन आयोगसित छलफलसमेत चलाएको छ ।

ऊर्जा तथा सिंचाई मन्त्री उमाकान्त झाले पनि असार पहिलो हप्ता चुनाव गर्नेगरी मिति तोक्ने तयारी भइरहेको बताए । मन्त्रिपरिषद्को अर्को बैठकले चुनावको मिति तोक्ने उनले बताए । ‘असारको पहिलो साता नै मिति घोषणा गर्नेगरी हामीले निर्वाचन आयोगसँग परामर्श गरिरहेका छौँ । आयोगले एउटा कार्यतालिका बनाएको छ । त्यसलाई ख्याल गर्नेगरी चुनावको मिति घोषणा हुन्छ’, मंगलबार आयोजित एक कार्यक्रममा मन्त्री झाले भने ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले असार ४, ५, ६ र ७ गतेमा चुनावको मिति तोकिने मन्त्री झाले बताए । ‘मन्त्रिपरिषद््को अब बस्ने बैठकले उक्त समयमा चुनाव गर्नेगरी मिति तोक्छ’, मन्त्री झाले भने । एकैदिन चुनाव गर्ने योजना सरकारले बनाएको उनले बताए ।
निर्वाचन आयोगसित चुनावको मिति घोषणा गर्नेबारे छलफल भइरहेको मन्त्री झाले बताए । देशलाई चुनावी माहोलमा लैजान उनले दलहरूलाई चुनावको तयारी गर्न आग्रह गरे । संविधानसभा चुनाव गराएर अहिलेको सरकारले नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने मन्त्री झाले बताए । ‘हामी असारको पहिलो साता स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित चुनाव गराएर नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न तयार छौँ’ उनले भने ।
अहिले चुनावको विरोध गरिरहेका दलहरूलाई पनि विश्वासमा लिएर चुनाव गराउने योजना सरकारको रहेको
मन्त्री झाले बताए । निष्पक्ष चुनावप्रति कुनै शंका नगर्न उनले आग्रह गरे । ‘चुनावमा भाग लिन्नौँ भन्ने दललहरूसँग पनि छिट्टै छलफल गरेर उनीहरूलाई पनि चुनावमा सहभागी गराउँछौँ’, उनले भने ।
कार्यक्रममा बोल्दै एमाओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले असारको ४ गतेभित्र संविधानसभाको निर्वाचन हुनुपर्ने बताए । ‘संविधानसभाको चुनाव ४०–४५ दिनमै निर्वाचन सम्पन्न गर्न सकिन्छ । तर, हामीसँग झन्डै ८०–८५ दिन बाँकी छ’, उनले भने ।
चुनाव हुन दिन्नौँ भन्ने र चुनाव भाँड्न चाहनेहरूलाई उनले प्रतिगामीको संज्ञा दिए । नेकपा–माओवादीले चाहेर मात्रै चुनाव नरोकिने प्रवक्ता सापकोटाले बताए । असारमा चुनाव नभए मुलुक ठूलो दुर्घटनामा फस्ने उनले बताए ।
कांग्रेस नेता डा.प्रकाशशरण महतले आफ्नो पार्टी असारको पहिलो साता नै चुनाव हुनुपर्छ भन्ने पक्षमा रहेको बताए । चुनावमा कांग्रेसले बहुमत प्राप्त गर्ने दाबी पनि उनको छ । ‘अबको चुनावमा नेपाली कांग्रेसलाई जनताले बहुमत दिन्छन्’ उनले भने ।
मन्त्रिपरिषद् अध्यक्षले प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्ने पक्षमा नेपाली कांग्रेस रहेको नेता महतले बताए । पार्टीको अब बस्ने बैठकमा यो विषय जोडतोडका साथ उठ्ने उनले बताए । ‘आउने बैठकमा यो एजेन्डा पार्टीमा उठ्छ । लोकतान्त्रिक पार्टीले पृथकीकरणको सिद्धान्तलाई अस्वीकार गर्न मिल्दैन’, उनले भने, ‘त्यसैले अब खिलराज रेग्मीजीले प्रधान न्यायाधीशबाट राजीनामा दिएर स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनुपछ ।’

कार्यक्रममा बोल्दै मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले चारवटा राजनीतिक शक्तिको सिन्डिकेटबाट बनेको सरकारले चुनाव गराउन नसक्ने बताए । ‘जबसम्म चार दलको सहमति सच्चिदैन तबसम्म चुनाव हुन सक्दैन । चुनाव त पूर्व राजा ज्ञानेन्द्र शाहले पनि गराएका थिए, त्यस्तो चुनाव जनतालाई मान्य हुँदैन’, उनले भने । आफूहरू चुनावको विपक्षमा नरहेको बताउँदै उनले अहिलेकै अवस्थामा चुनाव हुन नसक्ने बताए ।
एमाले नेता केशव बडालले चुनावको विकल्प नभएको भन्दै सरकारले तुरुन्त मिति घोषणा गर्नुपर्ने बताए । चुनावको विरोध गर्नेलाई सरकारले सहमतिमा ल्याउन उनले सरकारलाई सुझाव दिए । प्रमुख दलका शीर्ष नेताहरूले चुनावको विरोध गर्नेहरूलाई पनि सँगै लिएर जानुपर्ने उनले बताए ।

प्रतिक्रिया