सप्तरीमा गाउपरिषद् बस्न बेवास्ता

राजविराज : जिल्लापरिषद् सम्पन्न भएको १५ दिन बितिसक्दा पनि सप्तरीका एक दर्जन गाविसले गाउँपरिषद् बैठक गर्न सकेका छैनन् । पुसभित्र सक्नुपर्ने प्रावधानविपरीत गाविस सचिवको बेवास्ताका कारण परिषद् सम्पन्न हुन नसकेका हुन् ।
मधवापुर, भगतपुर, तरही, ब्रह्मपुर, अर्नाहा, वभनगामा कट्टी, कोइलाडी, फरसैठ, दिघवा, भुतही, बेलहीलगायत गाविसको गाउँपरिषद् सम्पन्न हुन सकेको छैन । १ सय १४ गाविसमध्ये १ सय ३ वटाले परिषद्को जानकारी गराए पनि ११ गाविसले परिषद् गर्न नसकेको जिविस सप्तरीको योजना शाखाले जनाएको छ ।
गाविसबाट छनोट भएर आएका विकाससम्बन्धी योजनाका आधारमा सम्पन्न हुने जिल्लापरिषद् ३० फागुनमै भइसकेको छ । तर, ती गाविसमा परिषद् सम्पन्न हुन नसक्दा विकासका काम ठप्प छन् । हतारमा परिषद् गरी अघिल्ला वर्षमा अनियमित रूपमा खर्च भएको हिसाब तथा चालु आवका विकास योजना आफूअनुकूल पास गराउने गाविस सचिवको प्रवृत्तिले परिषद् समयमा हुन नसकेको जानकारहरू बताउँछन् । बजेट फ्रिज हुने त्रास देखाउँदै पुसको समय राखेर चैत/वैशाखमा परिषद् बैठक डाक्ने र हतारमा जसरी पनि आफूअनुकूल परिषद् सम्पन्न गर्ने गाविस सचिवको पुरानो चलन हट्न नसकेका कारण ११ गाविसको परिषद् पछि सरेको स्रोत बताउँछ ।
गत आर्थिक वर्षमा समयमा परिषद् सम्पन्न नगर्ने केही गाविसको बजेट रोक्का गरिएको जानकारी दिँदै योजना अधिकृत नवराज खड्काले यस वर्ष पनि त्यसै हुनसक्ने आशंका गरे ।

 

प्रतिक्रिया