सहकारीको अफसाइड अनुगमन

sahakari-bibhagकाठमाडौं, १४ चैत । वार्षिक ५ करोडभन्दा बढी कारोबार गर्ने १५ वटा वित्तीय सहकारी (बचत तथा ऋण र बहुउद्देश्यीय) को अफसाइड अनुगमन तथा निरीक्षण सुरु भएको छ । नेपाल राष्ट्र बैंक र सहकारी विभागका संयुक्त टोलीले गत वर्ष अनुगमन तथा निरीक्षण गरेको सहकारीमध्ये १५ वटा सहकारीको अफसाइड अनुगमन सहकारी विभागले सुरु गरेको हो ।

‘गत वर्ष अनुगमनमा भेटिएको गल्तीलाई सुधार गरे/नगरेको भन्नेबारे जानकारी लिन अफसाइड अनुगमन गरेका हौँ ।’ सहकारी विभागका उपरजिस्ट्रार तथा अनुगमन समितिका संयोज उपेन्द्र ढुंगानाले भने, ‘विभागमै प्रतिवेदन मगाएर अनुगमन गर्नेछौँ ।’ विभागसँग जनशक्ति कम भएकाले पनि यस्तो गर्नुपरेको उनको भनाइ छ । राष्ट्र बैंक सहकारी अनुगमनबाट बाहिरिएपछि सहकारी विभाग, केन्द्रीय प्रशिक्षण केन्द्र र डिभिजन कार्यालय काठमाडौं मिलेर ३० वटा ठूला सहकारीको अनुगमन सम्पन्न गरेको ढुंगानाले बताए ।
यस अनुगमनमा अधिकांश सहकारी अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्तविपरीत सञ्चालन भइरहेको भेटिएको उनले बताए । उपत्यका तथा उपत्यकाबाहिर समेत अनुगमनलाई तीव्रता दिइने सहकारी विभागले जनाएको छ । गल्ती गर्ने सहकारीलाई कारबाहीसमेत गरिने ढुंगानाले बताए ।
अनुगमनमा बिनाधितो लगानी गरेको, सेयरलाई धितोका रूपमा लिने गरेको, ऋणीको एकाघरबाहिरको धितो स्विकार्ने गरेको, सदस्यको निक्षेप रकम घरजग्गालगायत अनुत्पादक क्षेत्रमा लगानी गर्ने गरेको, बचत तथा ऋणको ब्याजदरमा ठूलो भिन्नता र चेक धितो राखी ऋण कारोबार गर्ने गरेको भेटिएको थियो । त्यस्तै, लामो अवधिको मुद्दती निक्षेप स्वीकार गर्ने, ओभरड्राफ्ट कर्जा प्रवाह गर्ने, चल्ती खाता सञ्चालन गर्ने, सुनचाँदी धितोको कारोबार गर्ने र आकर्षक विज्ञापन गरी बचत संकलन गर्ने गरेकोसमेत भेटिएको थियो । संस्थाको सम्पत्ति खरिद तथा बिक्रीमा अपारदर्शिता, स्पष्ट लेखा नीतिको अभाव, कारोबारको उपयुक्त लेखांकनको अभाव, आन्तरिक नियन्त्रण प्रणाली कमजोर, सदस्यबीच विभेद, नाफा नदेखाउने तथा लाभांश बाँडफाँडमा अनियमितता र संस्थाहरूको लेखापरीक्षणसमेत कमजोर रहेकोलगायत दजनौँ गल्ती सहकारीमा भेटिएको थियो । पछिल्लो समयमा सहकारी संस्थाहरूले बचतकर्ताले आफ्नो बचत फिर्ता माग गर्दा फिर्ता दिन नसकेका, संस्थापकहरू बचत रकम नै लिएर भागेका वा बचतको दुरुपयोग गरेका घटनाहरू बाक्लै देखापर्न थालेको छ । विशेष गरी बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूले ठूलो कारोबार गर्न थालेका र संस्थागत सुशासन एवं पारदर्शिताको कमीका कारण तिनमा रहेका बचतको जोखिम बढ्दै गएको सहकारीका नियामक निकायले जनाएको छ । बैंक तथा वित्तीय संस्थाकै जसरी निक्षेप संकलन गर्ने र आफ्ना सदस्यहरूभन्दा बाहिरसमेत लगानी गर्ने गरेको छ ।
देशभर करिब २७ हजारको हाराहारीमा विभिन्न विषयका प्रारम्भिक सहकारी संस्था, १ सय ६३ वटा विषयगत संघ, ६८ वटा जिल्ला संघ, १६ वटा विषयका केन्द्रीय संघ, २९ वटा शाखाहरूसहित १ राष्ट्रिय सहकारी बैंक रहेको छ । ११ हजार ५ सय ९४ बचत तथा ऋण, ४ हजार १ सय ५ वटा बहुउद्देश्यीय सहकारी संस्थाहरू रहेका छन् । सहकारीहरूको कुल सेयर पुँजी २७ अर्ब, बचत निक्षेप १ खर्ब ४० अर्ब र लगानी १ खर्ब ३४ अर्ब पुगेको छ । देशको कुल वित्तीय कारोबारमा सहकारीले १५ प्रतिशतको हिस्सा ओगटेको तथ्यांक छ ।

प्रतिक्रिया